फागुन १२, रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकास्थित सिम्रुतुखोला लघु जलविद्युत् आयोजनाले आफैं विद्युत् उत्पादन नगरी नेपाल विद्युत् प्राधिकरणको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको छ ।
आयोजनाको पावरहाउसस्थित मेसिनमा खराबी आएपछि प्राधिकरणको केन्द्रीय लाइनको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको हो ।
सिम्रुतुुखोला विद्युत् आयोजनाको निर्माण सहकारीमार्फत भएको थियो । २०० किलोवाट क्षमताको पावरहाउस बिग्रिएपछि प्राधिकरणको बिजुली किनेर बेचिरहेको छ ।
जसका कारण त्रिवेणी गाउँपालिकाका अधिकांश वडा र मुसीकोट नगरपालिकाका ११ र १२ नम्बर वडाका उपभोक्ताले प्राधिकरणको विद्युत् सोझै नपाएका हुन् । सहकारीले १ हजार १०० घरमा मिटरबक्स जडान गरेको छ ।
सहकारीले आयोजनाको तार, पोल र मिटरबक्समा प्राधिकरणको विद्युत् जडान गरेको होरु सिम्रुतुखोलाबाट उत्पादित बिजुली ४ महीना पनि बलेन । त्यसपछि प्राधिकरणसँग विद्युत् किनेर वितरण गरिएको हो ।
आयोजनाले विद्युत् प्राधिकरणलाई हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षातको समयमा ४ रुपैयाँ ८० पैसा एकमुष्ट भुक्तानी गर्ने सम्झौता गरेको छ ।
उपभोक्ताबाट भने सबै समयमा ८ रुपैयाँ ४० पैसा महसुल लिने गरेको सहकारीले जानकारी दिएको छ । आयोजना निर्माणका क्रममा स्थानीय उपभोक्ताले घरघरैबाट नगद पनि संकलन गरेका थिए । सबै घरधुरीले केही समय श्रमदान पनि गरे । उक्त आयोजनाले सबै घरमा स्मार्ट मिटर जडान गरिदएको छ ।
यसबाट महँगो महसुल उठ्ने गरेको स्थानीय छवि ओलीले बताए । ‘हामीले आयोजनामा नगद पनि हालेका छौं,’ उनले भने, ‘के–के बाहानामा समितिले महँगो शुल्क लिने गरेको छ ।’ रिचार्ज गरेर विद्युत् बाल्नुपर्ने भएपछि महीना नपुग्दै रिचार्ज सकिने र विद्युत् लाइन काटिने समस्याबाट स्थानीयवासी आजित छन् ।
विद्युत् आयोजनाको सञ्चालक सहकारीका व्यवस्थापक मनबहादुर चन्दले भने आयोजनाले उपभोक्तालाई सहुलियतमै सहज सेवा दिन प्रयास गरिरहेको बताए ।
विद्युत् आयोजना निर्माणको जिम्मा लिएको गौरा कन्स्ट्रक्सनले आयोजना हस्तान्तरण गरिनसकेको र आयोजना निर्माण गर्दा बैंकबाट लिइएको ऋण तिरिनसकेकाले स्थानीयस्तरमा विद्युत् उत्पादन गर्न समस्या भएको उनको भनाइ छ ।
उनका अनुसार स्मार्ट मिटर बक्सले भुक्तानी गरेको नगद रहुञ्जेलसम्म मात्रै बिजुली बल्ने नत्र लाइन कटिने हुनाले उपभोक्तामा शंका पैदा भएको हो ।
सहकारीका अनुसार आयोजनामा अहिलेसम्म झन्डै १० करोड रुपैयाँ खर्च भएको छ । आयोजना निर्माणका लागि प्रतिघरधुरी १५ देखि ३० हजार रुपैयाँ संकलन गरिएको थियो ।
स्थानीयले २ करोड बढीको श्रमदान गरेका थिए । नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले यो सम्झौता प्राधिकरणले केन्द्रमै गरेकाले आफूलाई धेरै थाहा नभएको बताए ।
‘समितिले विद्युत् कसरी वितरण गरिरहेको छ, उपभोक्ता के कति छन् भन्नेसँग खासै सम्बन्ध हुन्न,’ उनले भने, ‘बलेको युनिटको सम्झौता अनुसारका महशुल हामीले लिने गरेका छौं ।’ उनका अनुसार अहिले प्राधिकरणले जिल्लाभरि विद्युत् विस्तारलाई प्राथमिकता दिएको छ । ६ ओटै स्थानीय तहमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिरहेको उनले जानकारी दिएका छन् ।