जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनी ग्रिड स्थापना गरिएको कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुवार सिंहले सो मिनी ग्रिडको उद्घाटन गर्दै ठाउँ अनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ,’ उनले भने ।
सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायत गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि आफूहरू उत्साहित भएको स्थानीय खड्कविक्रम शाहीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्याउने उद्देश्यसहित काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।
कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए । नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको निर्माणका लागि बाँधस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण थालिएको उनले बताए । रासस