जुम्ला । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैंचामा पुगेका छन् । प्राविधिकले बगैंचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्न बगैंचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोखरेलले किसानलाई प्रविधिक शीपमूलक तालिमसमेत दिएको बताइन् ।
‘स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैंचामै पुगेर स्याउ बगैंचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौं, स्याउ किसानका बगैंचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ,’ उनले भनिन्, ‘बगैंचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन् । एकापसमा बगैंचाको व्यवस्थापनबारे अनुभव आदान–प्रदान गर्छन् । गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन् ।’
बगैंचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । ‘यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैंचामा स्याउ बगैंचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैंचामै कृषि प्राविधिक पुगेर शीप सिकाउन थालेका छन् । यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैंचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायत विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिइन् ।
प्रशिक्षक रामबहादुर खत्रीका अनुसार किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिइएको छ । ‘अहिले बगैंचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको शीप सिकाउँदै आएका छौं । किसान पनि निकै जागरुक भइसकेका छन्,’ उनले भनिन्, ‘बगैंचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन् ।’ रासस