ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमाक्षेत्रका किसान आफ्नै आलु लीलामीमा किन्न बाध्य

२०७८ चैत, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो ।

तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो । सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन खिलानन्दले आग्रह गरे । तर, सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको भन्दै आलु लीलाम गरिदियो । त्यो लीलाम खिलानन्द आफैले सकारेर आफ्नै बारीको आलुका लागि ४ लाख रुपैयाँ भन्सारलाई तिर्नुपर्‍यो ।

यो सीमाक्षेत्रका किसानको समस्याको प्रतिनिधि घटना हो । यस्ता घटना प्रत्येक कृषि उपज तयार भएपछि खेतबाट बजार पुर्‍याउँदा यहाँका किसानले भोगिरहनुपर्छ । सीमाक्षेत्रका किसानले मकै, गहुँ आदि जुनसुकै बाली बजारमा लिएर जाँदा ‘पारिबाट’ ल्याएको ट्याग लगाइदिएर भन्सारले पक्राउ गर्ने र लीलाम गरिदिने गरेको छ ।

वर्ष दिनभरि दिनरात नभनी खेतमा काम गरेका किसानले कृषि उपज विक्री गर्न लैजाँदा बिचौलियाहरूले नै भन्सारलाई गलत जानकारी दिएर माल पक्राउ गराइदिने गरेका छन् । त्यसैले किसानले बिचौलियालाई किलोमा ५ देखि १५ रुपैयाँसम्म सस्तोमा कृषि उपज विक्री गर्नु परिरहेको दुखेसो खिलानन्दले पोखे ।
बाबुजी आधारभूत विद्यालयका प्रधानाध्यापक इलियास मन्सुरीले भने, ‘किसानले पहिलेपहिले बिचौलियालाई नै उत्पादित कृषि उपज खेतबाटै विक्री गर्थे । तर, पछिल्लो समय सडकको पहुँच भएपछि सोझै इनरुवाको सब्जिमण्डी या विराटनगरको गुदरी बजारमा आफ्ना उत्पादन लैजान थालेका छन् ।’

त्यहाँ लैजाँदा किलोमा ५ देखि १५ रुपैयाँसम्म बढी मोल पाउन थालेपछि बिचौलियालाई विक्री गर्न छाडेका हुन् । बिचौलियाले भन्सार र सीमामा बसेको प्रहरी अथवा अन्य स्थानको प्रहरीलाई भनसुन गरेर ‘पारिबाट’ ल्याएको ट्याग लगाई दिएर जफत गराउँछन् । त्यसैले बिचौलियाको डरले उनीहरूलाई नै सस्तोमा कृषि उपज विक्री गर्न बाध्य भएको मन्सुरीले बताए ।

सशस्त्र प्रहरीको बीओपीका प्रहरी निरीक्षक रामचरण यादव आफूले पारिबाट भन्सार नतिरी आएका कुनै पनि मालवाहक अथवा मोटरसाइकललाई प्रवेश गर्न नदिएको र कुनै पनि कृषि उपज पारिबाट ल्याउन नदिएको बताउँछन् । भन्सारले भने जस्तो कुनै पनि कृषि उपज पारिबाट ट्याक्टरका ट्याक्टर नेपाल प्रवेश नगरेको उनले बताए ।

उनले सीमाक्षेत्रमा २४ सै घण्टा सुरक्षा दिइरहेको उल्लेख गर्दै अहिले नेपालमा भन्दा भारतमा नै कृषि उपज महँगो भएकाले तस्करी भएर नेपाल आउने सम्भावना नरहेको उने बताए ।

देवानगञ्ज गाउँपालिका–४ का वडाध्यक्ष चन्देश्वरप्रसाद मेहताले किसानलाई आफ्नै बारीमा फलेको बाली बजार पुर्‍याउन पनि धेरै झन्झट खेप्नु परिरहेको बताए । बिचौलियाले किसानबाट सस्तोमा पाउन भन्सारलाई गलत सूचना दिई किसान तर्साएर खेतबाटै सस्तोमा कृषि उपज हात पारिरहेको उनले आरोप लगाए ।

उनले अब खेतमा नै गएर किसानको उत्पादनको तौल अन्दाज गरेर वडाले लिखित रूपमा पर्ची दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले ४ नम्बर वडामा मात्रै ५० हजार मेट्रिकटन आलु फल्ने गरेको बताए । उनका अनुसार यहाँका किसानले हेलेन, लाल गुलाव, पुखराज र सेतो आलु किसानले फलाउने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)