ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमाह सिमसारको आम्दानी घट्दै

२०७८ चैत, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । पर्यटन प्रवर्द्धनका योजना व्यवहारमा लागू नगर्दा पर्यटकीय क्षेत्रको आयआर्जन खस्किँदै गएको छ । प्रदेश १ सरकारले आयको प्रमुख स्रोतको रूपमा पर्यटनलाई स्वीकारे पनि प्रवर्द्धनका योजना कागजमै सीमित हुँदा आम्दानी गुम्न लागेको हो ।

यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको सिमसारको प्रवर्द्धनमा पालिका सरकारबाट भूमिका खेल्न नसक्दा आयआर्जन खस्किँदै गएको स्थानीयको गुनासो छ । गाउँकै आयआर्जनमा टेवा पुर्‍याउँदै आएको सिमसारको संरक्षण र प्रवर्द्धनमा सरकारले पहल नगरेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घले बताउँछन् ।

उनले भने, ‘माथिल्ला निकायबाट केही बजेट माग गरेअनुसारको आइरहेको छ तर स्थानीय सरकार बनिसकेपछि  जनप्रतिनिधिले खासै दायित्व वहन गरेनन् ।’

सरकारले १ स्थानीय तह १ सिमसार क्षेत्र अवधारण ल्याए पनि उपलब्धिमूलक काम गर्न नसकेको उनको आरोप छ । सिमसार संरक्षण तथा प्रवर्द्धनका लागि २० लाख बरारको डीपीआर तयार पारेको उनले बताए ।

उनले भने, ‘सिमसार क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न हामीले एउटा डीपीआरसमेत तयार पारेका छौं, जसलाई पूरा गर्न पर्याप्त बजेट छैन ।’ सिमसारको आफ्नै आन्तरिक स्रोतबाट पर्याप्त नभएकाले सरोकारवालाको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

विद्यार्थीले जैविक विविधता अध्ययन गर्न सक्ने गरी गुरुयोजना तयार पारेको घलेले जानकारी दिए । उनका अनुसार सिमसार क्षेत्रमा खुला चिडियाखानाको अवधारणासमेत रहेको छ ।

स्थानीय स्तरमा पाइने रैथानेदेखि अन्य स्थानमा पाइने माछा ल्याएर एक्वारियममा राख्ने योजना रहेको उनले सुनाए । समितिले तयार पारेको डीपीआरमा जैविक विविधता संग्रहालय, बोटानिकल गार्डेनलगायत योजना रहेको अध्यक्ष घलले बताए ।

समुदायले संरक्षण गरेको घना जंगल र मानव बस्तीको बीचमा अवस्थित अमाह पोखरी डेढ हेक्टर र सिमसार क्षेत्र ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बनिरहेको छ ।

विशेषगरी बिदाको समय मानिस अमाह सिमसारमा वनभोज खान, रमाइलो गर्न आउने गरेका छन् । पोखरीको बीचमा आइल्यान्ड (टापु) बनाइएको छ, जहाँ अमाह जलदेवीको मन्दिर छ । घुम्न आउने पर्यटकले त्यहाँ पूजा गर्छन् ।

जलदेवीलाई कागजको घोडाफूल र पानको पातमा फूलपाती बेरेर चढाउने चलन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)