ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैदी राख्न जग्गा किनिएको भैंसेपाटी कसरी बन्यो भीआईपी आवास क्षेत्र ? आनाकै डेढ करोड रुपैयाँ मूल्य !

२०७८ चैत, ७  
घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अमर बडुवाल

चैत्र ७, काठमाडौं। काठमाडौं उपत्यकाको दक्षिणी भेगमा रहेको भैंसेपाटी क्षेत्र भीआईपी आवास क्षेत्रका रुपमा परिचित छ ।

रोचक कुरा त के छ भने कुनै समय खानेपानी नै नपाइने भनेर उपेक्षा गरिएको भैंसेपाटी क्षेत्रमा कैदी बन्दी राख्ने योजनासहित सरकारले ५०० रोपनी जग्गा अधिग्रहण गरेको थियो । त्यहि क्षेत्र काठमाडौं उपत्यकाकै सबैभन्दा महँगो आवास क्षेत्रका रुपमा दरिएको छ ।

सरकारले २०३१/३२ सालमा केन्द्रीय कारागार राख्नको लागि भैंसेपाटी हाइटमा ४९५ रोपनी जग्गा किनेको थियो । स्थानीयले विरोध गरेपछि भैंसेपाटीमा राख्ने भनिएको कारागार नुवाकोट सारिएको भैंसेपाटी (सैंबु) आवास क्षेत्र उपभोक्ता समितिका पूर्व अध्यक्ष शिवगोपाल थापा मगरले आर्थिक अभियानलाई बताए ।

थापाका अनुसार भैंसेपाटी आवासमा पछिल्लो समय किनबेच भएको जग्गाको प्रतिआना मूल्य १ करोड ४५ लाख रुपैयाँ सार्वजनिक भएको थियो । वास्तविक किनबेच मूल्य भने आनाकै १ करोड ६० लाख रुपैयाँ भन्दा माथि रहेको थापा मगरले बताए ।

जग्गा विक्रीमा छ भनेपछि किन्ने मान्छेले मूल्य घटाउने नभइ बढाबढ हुने क्षेत्रमा गनिन्छ उक्त क्षेत्र । पछिल्लो समय भैंसेपाटी आवास योजना-२ मा २६ लाख रुपैयाँ मूल्यमा विक्रीमा राखिएको जजग्गालाई ४५ लाख रुपैयाँसम्म हालेको पनि उनले बताए ।

अहिले भैंसेपाटीमा जग्गा किन्नको लागि उद्योगी, व्यवसायी, उच्च पदस्थ सेवामा कार्यरत कर्मचारी र राजनीतिक दलका नेतासम्म लाइन लाग्ने गरेको पाइन्छ ।

एमाले नेता विष्णु पौडेल, बामदेव गौतम, विवेकशिल साझाका अध्यक्ष रबिन्द्र मिश्र, नेता ह्दयेश त्रिपाठी, होटल र्‍याडीसन र द्वारिकाका सञ्चालकहरूको आवास पनि भैंसेपाटीमै छ । उच्च पदस्थ व्यक्तिको रोजाइमा भैंसेपाटी क्षेत्र परेपछि यसलाई भीआईपी आवास क्षेत्र भन्न थालिएको थियो ।

 

जेल बनाउन किनेको जग्गामा आवास योजना बनाएपछि…

भैंसेपाटी क्षेत्रलाई भीआईपी क्षेत्र बनाउनमा सरकारले नै निर्माण गरेको भैंसेपाटी (सैंबु) आवासको ठूलो भूमिका रहेको छ ।

२०३१/३२ सालमा जग्गा अधिग्रहण शुरू गरेर जेल बनाउन खोज्दा स्थानीयले विरोध गरे । त्यसपछि २०४५ सालमा तत्कालिन प्रधामन्त्री मरिचमान सिंह श्रेष्ठले सैंबु आवास क्षेत्र निर्माणको घोषणा गरे । २०४६ सालमा जनआन्दोलन भएपछि उक्त योजना तत्कालै कार्ययान्वयनमा जान भने सकेन ।

पछि २०५१ बाट आवास योजनामा प्लटिङको काम शुरू भएको थियो । २०५३/५४ मा त स्थानीयलाई अस्थाइ जग्गा धनी पूर्जा नै दिन शुरू गरिएको थापा मगरले बताए ।

त्यतिबेला प्रति आना १ लाख रुपैयाँमा पनि कसैले जग्गा नकिनेपछि २/३ पटक सम्म सूचना निकाल्नु परेको थापाले स्मरण गरे ।

केही समयपछि ५/६ लाख रुपपैयाँ आनाको दरले जग्गा विक्रीको सूचना निकाल्दा पनि किन्ने मान्छे भेटिएनन् । २०६५/६६ सम्म पनि प्रतिआना १२/१३ लाख रुपैयाँमा जग्गा विक्रीमा राख्दा पनि किन्ने मान्छे नपाएर २/३ पटक सूचना निकाल्नु परेको थापाले बताए ।

त्यसपछि भने जग्गा विक्रीको लागि सूचना निकाल्दा मूल्य बढाबढ हुन थालेको थियो । अहिले त प्रतिआना डेढ करोड रुपैयासम्ममा जग्गा किनबेच भइसकेको छ ।

 

आवासबाट बचेको जग्गामा मन्त्री क्वाटर

सरकारले उक्त समयमा ४९५ रोपनी जग्गा अधिग्रहण गरे पनि पछि प्लटिङ गरेर विक्री ववितरण गर्दा ५६५ रोपनी जग्गा निस्केको उपभोक्ता समितिका पूर्व अध्यक्ष थापामगरले बताए ।

त्यहि जग्गा मध्येकै करीब १०० रोपनी क्षेत्रफलमा अहिले मन्त्री, प्रदेश प्रमुख र मुख्य मन्त्रीका लागि आवास निर्माण भइरहेको उनको भनाइ छ ।

मन्त्री क्वाटरका लागि निर्माण गरिएका भवनहरूको भौतिक संरचना तयार भइसकेको छ । आन्तरिक सजावटका कामहरू सकेर यसै आर्थिक वर्षमा हस्तान्तरण गर्ने ठेकेदार कम्पनीको योजना रहेको छ ।

 

भैंसेपाटी आवास पछि आधा दर्जन कोलोनी

भैंसेपाटीमा अहिले विनायक कोलोनी, मञ्जुश्री कोलोनी, हार्मोनी कोलोनी, संगम कोलोनी, सीजी कोलोनी लगायतका आधा दर्जन भन्दा धेरै कोलोनीहरू रहेका छन् । ती मध्ये हार्मोनीका घरहरू निर्माण भइरहेका छन् भने सीजीका घरहरू निर्माण हुन बाँकी छन् ।

हार्मोनी कोलोनीका घरको मूल्य साढे ३ करोड रुपैयाँबाट शुरू हुन्छ । सीजी कोलोनीका घरहरू भने साढे ५ करोड रुपैयाँबाट शुरु हुन्छन् । अन्य कोलोनीका घरहरू भने सबै विक्रि वितरण भइसकेका छन् ।

भैंसेपाटीलाई भीआईपी क्षेत्र बनाउन अन्तरराष्ट्रिय स्तरको मेडिसिटी अस्पतालको पनि ठूलो भूमिका छ । गैर आवासीय नेपाली संघका संस्थापक तथा व्यवसायी उपेन्द्र महतोको मेडिसिटी बाहेक उक्त क्षेत्रमा अरू नाम चलेका अस्पतालहरू छैनन् । आवास क्षेत्र वरपर नाम चलेका स्कुल कलेज पनि छैनन् ।

आवास क्षेत्रका विद्यार्थीहरू नाम चलेका अरू स्कुलमा पढ्न जाने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा सदस्य गोपाल डंगोलले बताए । दैनिक सयौंको संख्यामा नाम चलेका सबै स्कुलका बसहरू आउने र विद्यार्थी लैजाने गरेको उनले बताए ।

तर भैंसेपाटीबाट नजिकको दूरीमा डिएभी कलेज, लिटिल एन्जल्स स्कुल, मोर्डन इन्डियन स्कुल नजिकको दूरीमा रहेको उनले बताए ।

फास्ट ट्र्याकको जिरो पोइन्ट, नजिकै बनेको चोभार सुख्खा बन्दरगाहा र नख्खु-लेले २२ मिटर सडकका कारण पनि यो क्षेत्र पछिसम्म गतिशिल हुने डंगोलले बताए ।

 

जग्गा विक्रीमा आउने वित्तीकै विक्री !

भैंसेपाटी क्षेत्रमा अहिले मुख्य बजारमा जग्गा नै किन्न पाइदैन । कसैले जग्गा बेच्छु भन्यो भने मूल्य बढाबढ हुने स्थिति रहेको आवास उपभोक्ता समितिका पूर्व अध्यक्ष थापाको भनाई छ ।

सरकारले विकास गरेको जग्गाको मूल्य चलनचल्ती भन्दा केही सस्तो हुने भएकाले मूल्य बढाबढ हुनु स्वभाविक नै होला । तर भैंसेपाटीमा आवास क्षेत्र बाहेकका जग्गाहरू पनि विक्रीमा आउने वित्तीकै मूल्य बढाबढ गरेरै छिट्टै किनबेच हुने गरेको स्थानीय जग्गा व्यवसायी बताउँछन् ।

 

२ दशकमा १०० गुणा बढ्यो मूल्य

भैंसेपाटीमा आजभन्दा २ दशक अघिसम्म प्रतिआना डेढ लाख रुपैयाँ रहेको जग्गाको मूल्य पछिल्लो २ दशकमा १०० गुणाले बढिसकेको छ । २०५५/५६ देखि ५७/५८ सम्म पनि जग्गाको मूल्य डेढदेखि २ लाख रुपैयाँ आना रहेको थियो ।

त्यसपछि २०६५/६६ मा घरजग्गालाई राष्ट्र बैंकले कडाइ गर्दा एक पटक मूल्य घटेर १२/१३ लाख रुपैयाँ प्रतिआनामा पनि विक्री भएको थिएन । बाँकी समय भने जग्गाको मूल्य दिन दुई गुणा रात चौगुणाका दरले वृद्धि भएर २ दशकमै १०० गुणा मूल्य बढेको थापाले बताए ।

 

स्टार बिहिन होटलका कोठा ५ हजारमा विक्री !

भैंसेपाटीमा भीआईपीहरूको बसोबास रहेपनि त्याहाँ एउटा मात्रै स्तरीय होटल  'होटल ग्रेस' छ । जहाँ एक रात बसेको चार्ज मात्रै ५ हजार रुपैयाँ लाग्छ । होटलले कुनै स्टार रेटिङ नलिएपनि थ्री स्टार सरहको सेवा दिइरहेको होटल सञ्चालकले बताएका छन् ।

एउटा मात्रै होटल रहेको र ११ ओटा मात्रै कोठा भएकोले होटल सधै भरीभराउ रहने गरेको सञ्चालकको भनाइ छ । (फोटोहरू: सुनिल शर्मा/आर्थिक अभियान)

अभियानडेली डट कममा प्रकाशित समाचार कुनै पनि किसिमले कपी गरेर पुनः प्रकाशन गर्न पाइने छैन । कपी गरी पुनः प्रकाशन गरेको पाइएमा कानूनी प्रक्रियामा जाने छौ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)