ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको काममा ढिलाइ

२०७८ चैत, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । रूख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काममा ढिलाइ भएको छ । रूख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वनक्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ । राजमार्गको पूर्वी खण्डमा ३५ दशमलव शून्य ५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठूला गरी करीब ५ हजार रूख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए ।

कटान गर्नुपर्ने रूखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया शुरू गरिसकेका छन् । रूख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ ।

विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचना सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उनले बताए । पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेट्छ ।

राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई ९ मिटर फराकिलो बनाइँदै छ । सडक स्तरोन्नतिका लागि रू. १ अर्ब ९४ करोड ८४ लाख लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने रू. १ अर्ब ३ करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताए । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ । वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । ‘नाला निर्माण, भित्ताको माटो काट्ने, साइड लेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्,’ लामिछानेले भने, ‘कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।’ सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम शुरू हुन सकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)