कर्णाली । नापी कार्यालय सुर्खेतले भू–अभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य शुरू गरेको जनाएको छ ।
नेपालमा जग्गाको लिखत रजिष्टे«शन प्रारम्भको एक सय वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नापी कार्यालयले डिजिटल सेवा शुरुआत गरेको जनाएको हो ।
नेपालमा पहिलोपटक १९७९ वैशाख १ गते जग्गाजमिन किनबेच र रजिष्ट्रेशन नीतिसँगै पोता रजिष्टे«शन गर्ने व्यवस्था शुरू भएको थियो । नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले सूचना प्रविधिमैत्री सेवा प्रवाह गर्न थालिए पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भने कायमै रहेको बताए ।
उनका अनुसार हाल कार्यालयमा चार–चार अमिन र सर्वेक्षक कार्यरत छन् । ‘आठ जना अमिन र सर्वेक्षकले वीरेन्द्रनगरसहित पाँच स्थानीय तहको काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कर्मचारी अभावकै कारण भूमि आयोगले माग गरेबमोजिम कर्मचारी खटाउन सकिएन, कम्तीमा अमिन–सर्वेक्षकमात्रै १० जना आवश्यक पर्दछ ।’
नापी कार्यालयको कामप्रति सेवाग्राहीका गुनासाका सम्बन्धमा कुनै प्राविधिक क्षेत्रका विषयबाहेक प्रक्रिया पूरा गरी आउने सेवाग्राहीलाई कार्यालयले तोकिएकै समयमा सेवा प्रदान गर्दै आएको कार्यालय प्रमुख थापाको भनाइ छ ।
नेपालमा जग्गाको लिखत रजिष्टे«शन प्रारम्भको शतवार्षिकीका अवसरमा बिहीवार कार्यालयले सेवाग्राहीलगायत सरोकारवालाको सहभागितामा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम आयोजना गरेको छ । रासस