ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घाँसको मूल्यमा तेजपत्ता

२०७९ बैशाख, १३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । स्थानीय किसानले औषधि र मसलामा प्रयोग हुने तेजपत्ता (तेजपात) घाँसको भाउमा बेचिरहेका छन् । प्रशोधन र ब्रान्डिङ गरेर बेच्ने भारतीय व्यापारीले घाँसकै मूल्यमा नेपालको तेजपात लगिरहेका छन् । तेजपत्ताको कारोबार वर्षेनि बढेको देखिए पनि किसान लाभान्वित हुन सकेका छैनन् । यसको मूल्य भारतीय व्यापारीको इच्छामा निर्धारण हुन्छ ।

तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका साँगुरीगढीका अगुवा किसान धनबहादुर राई भारतीय बजारमा भर पर्नुपर्ने अवस्था अन्त्य नभएसम्म सस्तोमा विक्री गर्ने बाध्यता नहट्ने बताउँछन् । स्वदेशमै प्रशोधन र ब्रान्डिङ गर्ने काममा सरकारले सहयोग नगरेसम्म घाँसको भाउमा बेच्नुपर्ने बाध्यता रहिरहने उनको गुनासो छ ।

तेजपातलाई प्रशोधन र ब्रान्डिङ गर्न सके उच्च मूल्य प्राप्त गर्न सकिने धरानस्थित कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार कृषि उपज बजार स्थलमा वार्षिक १६ करोड रुपैयाँको तेजपत्ता किनबेच हुन्छ ।

बोलीचालीको भाषामा हाँगासहितको तेजपत्तालाई सिन्कौली र यसको रुखको बोक्रालाई दालचिनी भनिन्छ । तेजपत्ता नेपालमा व्यापक उत्पादन भए पनि मुख्य बजार भने भारत हो ।

भट्टराईका अनुसार गतवर्षको तुलनामा यो वर्ष तेजपत्ताको निर्यात १५ देखि २० प्रतिशतले बढ्ने संकेत देखिएको छ । यो वर्ष वैशाखसम्ममा करिब १६ करोड रुपैयाँ बराबरको ४ हजार मेट्रिक टन तेजपत्ताको कारोबार हुने अवस्था रहेको उनले बताए । गतवर्ष कृषि उपज बजार स्थलबाट ३ हजार ४ सय २० मेट्रिक टन तेजपत्ता बिक्री भएको थियो । यसको कारोबार रकम करीब १५ करोड रुपैयाँ बराबर रहेको उनले बताए ।

‘कोरोना महामारीअघि पूर्वी पहाडमा उत्पादित तेजपत्ताको माग अत्यधिक हुँदा यसको मूल्य प्रतिभारी २ हजार रुपैयाँसम्म पुगेको थियो । लकडाउनयता किसानले सस्तैमा विक्री गरिरहेका छन्,’ उनले भने । नेपालमा उत्पादित ९५ प्रतिशत तेजपत्ता कच्चा पदार्थको रुपमा भारत निर्यात हुन्छ । सरकारले तेजपत्ता प्रशोधन, ब्रान्डिङ, प्याकेजिङ, लेबलिङ र मार्केटिङ गर्न सके राम्रो आम्दानी हुने भट्टराईको भनाइ छ ।

यसको सुक्खा पातको मूल्य अहिले प्रतिकिलो ४० रुपैयाँ छ । बजार व्यवस्थापक भट्टराईका अनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा १२ करोड ५० लाख रुपैयाँको ३ हजार १ सय १० मेट्रिक टन तेजपात भारत निर्यात भएको थियो । आव ०७७/७८ मा १५ करोड ५० लाख रुपैयाँमा ३ हजार ८ सय ७५ मेट्रिक टन निर्यात भयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)