वैशाख ३१, दाङ । घोराही उप- महानगरपालिकाको मतगणना शुरु भएको छ ।
बिहान १०ः३० बजेदेखि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उक्त महानगरपालिकाको वडा नं १४ र १९ बाट मतगणना शुरु गरिएको हो । उपमहानगरमा कुल १लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७दशमलव७६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले बताएको छ ।
यसैबीच जिल्लाका दङ्गीशरण, बबई, शान्तिनगर, राजपुर, गढवा, राप्ती, बङ्गलाचुली र लमही नगरपालिकामा मतगणना जारी रहेको तर तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि गरिने भएको छ ।
उक्त उप- महानगरपालिकाको वडा नं १७ मा नेकपा (एमाले) बाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने बताएको छ । रासस