सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो ।
नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।
यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुन तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । ६ ओटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दश ओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । रासस