डोल्पा । डोल्पामा बुधवारदेखि यार्सागुम्बा संकलन खुला गरिने भएको छ । शनिवार सदरमुकाम दुनैमा बसेको जिल्ला समन्वय समिति डोल्पाको बैठकले उक्त निर्णय गरेको हो । समितिका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटनमा आगामी असार १० गतेसम्म संकलन गर्न पाउने निर्णय गरेको हो ।
स्थानीयले यार्सागुम्बा संकलनबाट आयआर्जन गर्ने गरेका छन् । कोभिड–१९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको गुनासो गर्दै आएका थिए । बुधवारदेखि करीब एक महीनाका लागि यार्सा पाटन खुला गरिएसँगै स्थानीयवासी उत्साहित भएका छन् । यार्सागुम्बा संकलनका लागि मध्यवर्ती क्षेत्र, जिल्लाभित्र र बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियमावलीअनुसार फरक–फरक प्रवेश शुल्क लगाइँदै आएको छ ।
यार्सागुम्बा संकलनकर्ताका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जानकारी दिएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिनेछ । यार्सागुम्बा संकलन अवधिमा यार्सा संकलनबाहेक अन्य गैरकानूनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वनजंगल संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले चेतावनी दिएको छ ।
यस्तै यार्सागुम्बा संकलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहोरमैला व्यवस्थापनका लागि यार्सागुम्बा संकलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने बताइएको छ । रासस