डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सीधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सीधा यातायात सञ्चालन भएको हो । यातायातको सुविधाले स्थानीयको दिनचर्या सहज भएको छ । दुई ठाउँमा बेलीब्रिज बनेपछि यातायातका साधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन् । एक महीनादेखि सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासी लाभान्वित भएका हुन् ।
करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेको त्रिपुराकोटकी मनमाया न्यौपानेले बताइन् । यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालवाहक गाडी सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारीसाधन रोकिन सक्छन् ।
हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुंगाड र छलगाडमा पुल निर्माण भएपछि सवारीसाधन वर्षामा समेत चल्न सक्छन् ।
त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपछि डोल्पा सदरमुकाम दुनै पुग्न सजिलो हुनेछ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ । रासस