काठमाडौं (अस) । कर्णाली र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियार र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलवार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कर्णाली प्रदेशसभामा मंगलवार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘कर्णाली वृक्षरोपण वर्ष’देखि ‘गरी खाने’सम्मका कार्यक्रम समेटिएका छन् । यस्तै गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखिएको प्रदेश प्रमुख गुरुङले जानकारी गराए । उनका अनुसार उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ ।
यस्तै, कर्णाली सरकारले बहुउपयोगी र मूल्यवान् प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षरोपण कार्यलाई अभियानको रूपमा अघि बढाउन आगामी वर्षलाई ‘कर्णाली वृक्षरोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको प्रदेश प्रमुख परियारले बताए ।
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सरकारले विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवालाई शीप, स्रोत र साधन उपलब्ध गराई सृजनशील उद्यममार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कर्णालीको नीति तथा कार्यक्रममा प्रदेश अस्पताललाई विश्वविद्यालयको अवधारणाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गरिने, जिल्ला अस्पतालको भौतिक पूर्वाधार सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ । यस्तै, सूचना प्रविधिको प्रयोगमार्फत स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता क्रमशः न्यूनीकरण गर्दै स्वास्थ्य सेवा गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाइने प्रदेश प्रमुख परियारले बताए ।