ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूउपयोग नियमावली लागू हुनुपूर्व धमाधम कित्ताकाट, कारोबार बढेअनुसार राजस्व बढेन

२०७९ असार, १  
घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

असार १, काठमाडौं । भूउपयोग नियमावली कार्यान्वयनमा आउनुअघि जग्गाको कित्ताकाट बढेको पाइएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याकं अनुसार बैशाखको तुलनामा जेठमा करीब १५ हजार बढी कित्ताकाट भएका छन् ।

गत वैशाखमा एक लाख ८ हजार ५५५ ओटा कित्ताकाट भएकोमा जेठमा भने  १ लाख २२ हजार ८०४ ओटा कित्ताकाट भएका छन् ।यो संख्या गत वैशाखको भन्दा  १४ हजार २४९ ले बढि हो ।

त्यस्तै, वैशाखमा साबिकका ४५ हजार ५९४ कित्ताहरु काटेर १ लाख ८ हजार टुक्रा पारिएको थियो भने जेठमा ५१ हजार ८३७ कित्ताहरू काटेर १ लाख २२ हजार टुक्रा पारिएका हुन् ।  

किन बढ्यो कित्ताकाट ? 

सरकारले भूउपयोग नियमावली मार्फत कृषि योग्य जग्गातर्फ कम्तिमा १ रोपनी भन्दा बढी र आवासिय जग्गामा ४ आना १ दाम भन्दा बढी हुनेगरी मात्रै कित्ताकाट गर्न पाउने नियम ल्याएको छ ।  नियम लागू हुनुभन्दा अघि नै व्यवसायीहरूले तोकिएको क्षेत्रफलभन्दा कम हुने गरि कित्ताकाट गर्दा कित्ताकाटको संख्या बढेको विभागको भनाइ छ ।

नियमावली लागू हुँदा जग्गाको वर्गिकरण गरेपछि मात्रै कित्ताकाट र कारोबार गर्न पाउने भएपछि केही व्यवसायीहरूले नियम लागू हुनु अघि नै कित्ताकाट र कारोबार गरेका कारण जग्गाको कारोबार सँगै कित्ताकाटको संख्या पनि बढेको विभागका अधिकारीहरू बताउँछन् ।

त्यस्तै प्लटिङ गरिरहेका तथा साना साना टुक्रा विक्रीको लागि बैना लिइसकेका व्यवसायीहरूले नीति आउनु अगाडि नै कित्ताकाट गरेर किनबेच गरेका कारण कित्ताकाट र कारोबार संख्या दुबै बढेको हो ।

सबैभन्दा धेरै कित्ताकाट ललितपुरमा

जेठमा सबैभन्दा बढी ललितपुरमा कित्ताकाट भएका छन्  ।  साबिकका १९०२ कित्ता जग्गा टुक्र्याएर ५ हजार ४९२ कित्ता बनाइएको छ ।

त्यस्तै सुनसरीमा साबिकका १९७० कित्ता जग्गालाई टुक्र्याएर ५ हजार ४१ नयाँ कित्ता कायम गरिएको छ । दाङको लमहिमा साबिकका १९५५ कित्ता जग्गा टुक्रा पारेर ४ हजार ९०९ नयाँ कित्ता कायम गरिएको छ ।

त्यस्तै झापाको भद्रपुरमा ४ हजार २२४, बिराटनगरमा ४ हजार २०४, काठमाडौंको साँखुमा २ हजार ९ सय ६३ र झापाको दमकमा २१ सय ७८ नयाँ कित्ता थपिएका छन् ।

कारोबार बढेअनुसार राजस्व बढेन 

गत वर्ष मंसिरदेखि चैत्रसम्म ६० देखि ७५ हजार हाराहारीसम्म भएको घरजग्गा कारोबार बैशाखमा ४५ हजारमा सीमित भएको थियो ।

तर भूउपयोग नियमावली कार्यान्वयनमा आउँदा केही समय कारोबार नै प्रभावित हुने जानकारी पाएका व्यवसायीले हतार हतार किनबेच गर्दा जेठमा कारोबार बढेको विभागको भनाइ छ ।

देशको समग्र अर्थतन्त्र नै खराब लयमा हुँदा घरजग्गा कारोबार बढ्ने कसैले अनुमान नै गरेका थिएनन् । तर कारोबार संख्या बढेपछि भूउपयोग नियमावली कार्यान्वयन हुनु अघि नै ससाना टुक्रा कित्ताकाट गरेर किनबेच गरेको विभागको अनुमान छ ।

उनीहरूको अनुमानलाई घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्वले पनि साथ दिएको छ । वैशाखमा १० हजार कम किनबेच हुँदा र अहिले १० हजार बढी घरजग्गा किनबेच हुँदा पनि रजिष्ट्रेशन दस्तुर भने समान अढाइ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । ठूला कित्ता जग्गा किनबेच भएको भए राजस्व भने त्यसै अनुसार बढ्ने विभागका अधिकारीहरू बताउँछन् ।

उपत्यकामा घट्यो कारोबार
भूउपयोग नियमावली कार्यान्वयन पछि काठमाडौं उपत्यकाको घरजग्गा कारोबार भने घटेको छ । उपत्यकामा जेठमा ५ हजार ७६३ घरजग्गा किनबेच भएका छन् ।  गत वैशाखमा भने ६ हजार १०९ घरजग्गा किनबेच भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)