असार २, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर अहिले चिउरी प्रवद्र्धनमा जुटेको छ । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगरी जथाभावी चिउरीका रुख काटेर मासिन थालेपछि सेना त्यसको प्रवद्र्धनमा जुटेको हो । चिउरी बहुउपयोगी विरुवा भएपनि संरक्षणतर्फ कसैले ध्यान नदिँदा लोप हुन थालेको भन्दै सेनाले पश्चिम नेपालका पहाडी क्षेत्रका उपयुक्त ठाउँहरूमा चिउरी प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।
सेनाले चालु आर्थिक वर्षको अन्त्यसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लामा २ हजार ६ सय २० वटा विरुवा वृक्षारोपण गर्ने लक्ष्य लिएको नयाँ सवुज गण सुर्खेतका प्रमुख सेनानी रुपक थापाले जानकारी दिए ।
उनका अनुसार सबै भन्दा बढी दैलेखमा १ हजार ५ सय र सबै भन्दा कम १० वटा चिउरीका विरुवा बाजुरामा रोपिनेछन् । ‘हाम्रा अग्रज पुर्खाहरूको कठोर मेहनतले रोपी हुर्काई संरक्षण गरेका चिउरी जस्ता बहुउपयोगी सम्पदा र वंशाणु स्रोतको दिगो संरक्षणमा जुट्नु पर्छ,’ उनले भने, ‘वर्षेनी विभिन्न विरुवाको वृक्षारोपण गरेपनि बहुउपयोगी चिउरीको वृक्षारोपण नगर्दा लोप हुँदै गएकाले प्रवद्र्धन तथा संरक्षण आवश्यक देखियो ।’ उनले जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत रोकथाम तथा नियन्त्रण गर्न चिउरीे प्रवद्र्धन तथा संरक्षण गर्न जरुरी रहेको औल्याए ।
उनका अनुसार हरित विकासको अवधारणा र जलवायु उत्थानशील विकासलाई टेवा पु¥याउने गरी हरित रोजगारी सिर्जना गर्ने कार्यक्रम समेत ल्याउन आवश्यक देखिन्छ । उनले चिउरीलाई लघु उद्यमको रुपमा विकास गरि खेर गइरहेको स्रोत–साधनबाट आयआर्जनको समेत सम्भावना रहेको बताए । यसैबीच सेनाको नयाँ सवुज गण सुर्खेतले बिहीवार वीरेन्द्रनगरस्थित कपासे ब्यारेकमा ४ सय चिउरीका विरुवा रोपेको छ ।
वृक्षारोपण कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत मुनबहादुर रावत, प्रमुख सेनानी रुपक थापा, रक्तकाली गणका गणपति विमल डाँगी, सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टलगायतको सहभागिता थियो ।
सुर्खेतका प्रजिअ रिजालले युगौंदेखि मानव जीवनसँग प्रत्यक्ष जोडिएको चिउरी जस्तो बहुउपयोगी विरुवा पछिल्लो समय जनचेतनाको अभावमा मासिनेक्रम बढेकाले यसको प्रवद्र्धन तथा संरक्षण अपरिहार्य रहेको औल्याए ।
यद्यपि पछिल्लो समय सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिएपनि अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ ।
चिउरी किन बहुउपयोगी ?
चिउरीबाट घ्यू, मौनवत्ती, साबुन, क्रिम, जुस र विभिन्न कस्मेटिक सामग्री बनाउन समेत प्रयोग गरिन्छ । चिउरीको पाटबाट टपरी, घाँस, घीउ निकाल्दा बाँकी रहेको पिना अत्यन्तै उपयोगी रुपमा प्रयोग गर्न सकिन्छ । चिउरीको फल मानिसका लागि खानाको रुपमा समेत प्रयोग गरिँदै आएको छ ।
एक पाथी अर्थात् चार किलो बीउबाट झण्डै दुई किलो घ्यू उत्पादन हुन्छ । एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ । यो घ्यूको सेवनले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने विश्वास छ ।
साबुन, शरिरमा लगाइने लोसन, कपाल मुलायम बनाउने वस्तु आदि उत्पादनमा चिउरीको घ्यू प्रयोग हुन्छ । चकलेट, बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ । चिउरीको बीउ पेलेर निस्कने पिना महत्वपूर्ण कम्पोष्ट मल मानिन्छ ।
यसैगरी पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ । चिउरीे रैथाने वनस्पति हो । चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका पहाडमा भएको देखिन्छ ।
चिउरीबाट अहिले वाइन, जाम र महदेखि प्रांगारिक मल तथा विषादीसम्मको उत्पादन शुरु भएपनि संरक्षण नहुँदा लोप हुने अवस्थामा छ ।
चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरी तथा फर्निचर बन्छ । बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको बिजुला (कोया) बाट हुन्छ । समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो ।