ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महँगीको मारमा निम्न मध्यम वर्ग : छाक टार्ने थोरै विकल्प मात्रै बाँकी !

२०७९ असार, ७  
समाचार स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

असार ७, काठमाडौं । पछिल्लो समय महँगीका कारण सर्वसाधारणलाई जीवनयापन गर्न निकै सकस भइरहेको छ । पेट्रोल इतिहासमै पहिलो पटक २०० रुपैयाँ नजिक पुगेको छ । खाने तेलको भाउमा भएको वृद्धिले त तरकारी पनि उसिनेर खानु पर्ने अवस्था देखिन थालेको छ ।

तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक विक्रेताकहाँबाट किन्दा केही सस्तो भएपनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्य वस्तु त बढेको छन् नै अखाद्य वस्तुको भाउ पनि बढेका छन् । जारको पानी महँगो भएको छ । व्यापारीहरुले चिनीको भाउ आफूखुसी बढाएका छन् । 

महँगीको प्रभाव सबैतिर देखिएको छ । कयौं मानिस लत्ता कपडा, घुमफिर र रेष्टुराँमा गएर खाने खर्च घटाइरहेका छन् । कार्यालय आउँदा आजसम्म कहिले खाजा बोकेर नआउने कीर्तिपुरका दिपक बमले अचेल खाजा बोकेर आउने गरेका छन् । ‘बाहिर खान साह्रै महँगो हुन थाल्यो । घर खर्च नै पुर्‍याउन धौ धौ भइराखेको छ’,  घरमा श्रीमतिलाई भनेर खाजा बनाउन लगाएर ल्याउने गरेको भन्दै कीर्तिपुर नयाँ बजारमा कार्यालय जान माइक्रो चढ्न लागेका बमले भने । घरको गर्जो टार्न पैसा अपुग हुन थालेपछि उनले दैनिक चिया र चुरोटमा पनि पैसा घटाउन थालेका छन् । 

‘कति साह्रो महँगो भएको कपडा,’ पसलेले एउटा टि–शर्टकै १ हजार ८०० रुपयाँ भनेपछि जिब्रो टोक्दै बानेश्वरमा पसल बाहिर निस्किएकी सुस्मिता शर्माले भनिन् । ‘धेरै भएको थियो कपडा किनेकी थिइन्, कपडाको मूल्य सुनेर मन कटक्क खायो, जे छ त्यहीले चलाउनु पर्यो,’ नकिन्ने अठोटमा पुगेकी शर्मा भन्छिन् । कोरोना भाइरसको महामारी कारण महँगी यसै पनि बढेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेयता अवस्था झनै विकराल बनेको छ ।

इन्धनको मूल्य वृद्धि कहाली लाग्दो छ । यसको प्रभावले गाडीको भाडा बढ्ने र यसको प्रभाव सबैमा पोखिने अवस्था छ । ‘अब त बाइक पनि चढ्न नसकिने भयो, २०० रुपैयाँ तिर्दा एक लिटर मात्रै पेट्रोल आउँछ, यस्तै ताल हो भने बाइक घरमै थन्क्याएर हिड्नु पर्ने भइसक्यो,’ भद्रकालीमा बाइकमा तेल भर्न आएका शंखुमल बस्ने गणेश पौडेलले भने । छोटो गन्तव्यमा बरु हिडेर जाने अनि टाढै जान परेमात्र बाइक चलाउने वा धेरै ठाउँमा पुग्न नपरेको बेलामा बसकै प्रयोग गर्नु पर्ने सुरमा पौडेल छन् । 

‘मैले मासुको खपत नै घटाइसके,’ बानेश्वरको एउटा मासु पसलमा मासु किन्न छिरेकी लक्ष्मी बास्तोला भन्छिन् । हप्तामा दुई पटक मासु खाने गरेकी उनले अहिले एक पटकभन्दा धेरै मासु पकाउँदिनन् । त्यो पनि सानो छोराको रहरमा । रेष्टुराँमा कहिलेकाँही खानका लागि जाने गरेकोमा अब त त्यो पनि बन्द गरेकी छिन् । मम, चाउमिन जे खान मन लाग्छ घरमै सामान ल्याएर बनाउन थालेका छौं । बाहिर खानै नसक्ने भएको भन्दै उनले सुनाइन् । 

फलफूल पनि निकै कम गरिएको उनको भनाइ छ । ‘छोरा सानो छ, उसलाई अत्यावश्यक भएर मात्रै हो किन्ने, आफ्ना लागि त दुई/अढाई वर्ष भएसक्यो एक धरो लुगा किनेको छैन,’ एक जनाको तलबले परिवारको खर्च धान्न नसकेको भन्दै उनले बताइन् । ‘अन्डा पनि गोटाकै १७ पुगेको छ । खान सक्ने कुरै केही छैन,’ आम्दानी नबढेको तर महँगी भने बढिरहेको काठमाडौंकै एउटा निजी कम्पनीमा कार्यरत बास्तोलाको गनुासो छ ।  

‘तलबले पुग्दैन, छोरा छोरी पढाउन परिहाल्यो, खान परिहाल्यो खुवाउन परिहाल्यो, तलबले छोप पनि लाग्दैन के गर्नु ?’ खर्च धान्न नसकेपछि बैंकमा रहेको बचत झिक्न आएका भक्तपुरका शिवहरी अर्यालले भने । हरेक महीना तलबबाट केही हजार मात्रै भएपनि जोगाउने गरेका अर्याललाई गएको ३/४ महीनायता भात भान्सा टार्न, बुढा भएका बाबुआमाको दैनिक औषधि र छोरीहरु पढाउन सकस हुन थालेको छ । केही सिप नलागेपछि मुद्दतिमा राखेको पैसा नै म्याद नै नपुगी झिक्नु परेको गुनासो उनको छ । यस्तोमा केही गर्दा पनि खर्चले नपुग्ने देखेपछि खर्च कमगर्न अर्याल र उनको श्रीमतिले मिलेर कौसी खेति शुरु गरेका छन् । दूध पनि दिनको २ लिटर ल्याउने गरेकोमा अहिले १ लिटर मात्रै लिइरहेका छन् । 

असनमा कपडा पसल गरिरहेका गुल्मीका विजय सुवेदी अचेल फुर्सदमा भेटिन्छन् । कुनै समय पसलमा पालो कुरेर किन्नुपर्ने अवस्था थियो । २ जना स्टाफ राखेर व्यवसाय गरिरहेका थिए । तर अचेल उनले दुबै जना सहयोगीलाई आवश्यक पर्दा मात्रै बोलाउने गरी कामबाट हटाएका छन् । एक्लै पनि दिनभर पसल कुरेर बस्नु मात्रै भएको सुवेदीले बताए ।

महँगी बढेका कारण सर्वसाधारणलाई चामल किन्नै आच्छु आच्छु भइरहेका बेला लत्ता कपडा किन्न को आउँछ ? न्यूरोडमा जुत्ता चप्पलसहितको फेन्सी स्टोर चलाइरहेका झापाका तिलक प्रसाइले प्रतिप्रश्न गर्दै भने 'मासिक लाखौ रुपैयाँ भाडा तिरिरहेको र दिनमा २/४ जोर कपडा पनि नबेचिँदा भाडा तिर्नै नसक्ने अवस्था आइसकेको छ ।'

घरमा मिक्सर बिग्रिएर बसेको भएपनि पैसा अपुग भएकोले फेर्न नपाएको चोभारकी श्रृजना बर्तौला बताउँछिन् । लुगा धुने मेशिन पनि बिग्रिएकै २ महीना भयो । बनाउन १३/१४ हजार लाग्ने भएपछि यो महीना पनि उनले बनाउन सकिनन् । महीना दिन वा २० दिनमा एक पटक पार्लर जाने गरेकी उनले गएको ३/४ महीनादेखि पार्लर टेकेकी छैनन् । बालबच्चालाई शनिवार बाहिर  घुमाउन र रेष्टुराँमा खाजा खुवाउन लैजाने क्रम पनि विगत ४/५ ओटा शनिवारदेखि भंग भएको छ उनको । 

नेपालमा मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशतमा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो गत वर्षको भन्दा ठ्याक्कै दोब्बर हो । महँगी बढेपछि पछिल्लो समय सर्वसाधारणको जीवनशैली नराम्ररी प्रभावित बनेको छ । न्यून आय भएका, विद्यार्थी अनि दैनिक मजदूरी गरेर जिविका चलाउनेहरुको जीवन झनै कष्टकर बनेको छ ।

महँगी बढेपछि अधिकांश सर्वसाधारणले दूध, तरकारीलगायतमा खर्च घटाएका छन् । भान्सामा दैनिक रुपमा उपभोग हुने सामान नै कम किन्ने, तरकारी सकेसम्म भुटेको वा तारेको भन्दा पनि झोल हालेर खाने, बाहिर पनि जानै परे मात्रै जाने, सस्तोमा सामान पाइने ठाउँ खोजेर किन्ने प्रवृत्ति पनि पछिल्लो समय सर्वसाधारणहरुमा देखिएको छ । ग्यास महँगो बनेपछि भान्सामा इन्डक्शन चुलोको प्रयोग बढि भएको छ । यस्तोमा बिजुलीको महसुल घटाउन केहीले अन्य सकेसम्म उपकरण वा बिजुली बत्तीको प्रयोग घटाएका छन् । 

घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न भारतले गहुँ, चिनीको निर्यातमा रोक लगाएपछि नेपालीहरु मारमा परेका छन् । अमेरिकी डलरको भाउ पनि ऐतिहासिक उच्च स्तर नजिक छ । आकाशिएको डलर नेरु विनिमय दरले पनि आयातमा निर्भर नेपाली अर्थतन्त्र झनै थिचिएको छ । नेपालीहरु आयातित महँगी खेप्न बाध्य बनेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)