ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संकटमा मैदा मिल

२०७९ असार, १७  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगर भन्सारबाट गहुँ आयात शून्यमा झरेको छ । गहुँको सट्टा मैदा र आटाको आयात शुरू भएको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउनुअघि तयारी आटा र मैदा भन्सारको ग्रीन च्यानलबाट नेपाल भित्रिएको थिएन । 

वैशाख अन्तिम सातातिर भारतले गहुँ उत्पादन लक्ष्यभन्दा कम भएको भन्दै निकासीमा प्रतिबन्ध लगायो । भारतले फिजीमा भने गहुँ निर्यात गरिरहेको छ । भारतले छिमेकी मुलुकलाई आवश्यकता परे परिमाण तोकेर दिन सकिने बताएको छ । तर, नेपालले गहुँ ल्याउन कूटनीतिक पहल नगर्दा ३६ ओटा स्वदेशी मैदा मिल संकटमा परेका छन् । 
विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा आयात रोकिएको छ । त्यसपछि मैदा र आँटाको आयात शुरू भएको उनले बताए । गत जेठमा ३१ लाख ४८ हजार रुपैयाँ मूल्यको ८० मेट्रिक टन गहुँको पिठो आयात भएको छ । 

प्रवक्ता ढुंगानाका अनुसार यसअघि गहुँ नै आयात हुन्थ्यो । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि बिस्कुट, चाउचाउ उद्योगले गहुँको पिठो नै मगाउन थालेका हुन् । असारमा जेठको भन्दा बढी गहुँको पिठो भित्रिएको छ । 

नेपाल सरकारले भारत सरकारसँग गहुँबारे कुरा नगर्दा पिठो आयात हुन थालेको हो । यसले स्वदेशी मैदा मिलहरू जोखिममा परेका छन् । नेपालका ३६ मैदा मिलले वार्षिक ६ लाख ५० हजार टन पिठो उत्पादन गर्छन् । उद्योगीहरू भारतबाट गहुँ ल्याउन नपाए गाईबस्तुलाई खुवाउने चोकरको पनि समस्या हुने बताउँछन् । 

विराटनगर भन्सारका अनुसार यो नाकाबाट चालू आर्थिक वर्षको १० महीनामा ३२ करोड ७७ लाख ९० हजार रुपैयाँ मूल्यको करीब १ लाख क्वीन्टल गहुँ आयात भएको छ ।
मैदा उत्पादक संघका महासचिव राधेश्याम अग्रवालले स्थानीय उत्पादनभन्दा भारतबाट आउने पिठो सस्तो पर्ने भएकाले यहाँका उद्योगले लागतसमेत उठाउन नसक्ने स्थिति आएको बताए । उनले भने, ‘यहाँका मैदा मिल बन्द हुने संघारमा पुगेका छन् ।’ 

गहुँ आयात गर्दा भन्सार महसुल ५ प्रतिशत लाग्छ । मैदा आयात गर्दा १० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । तैपनि स्थानीय उत्पादनको तुलनामा भारतीय मैदा सस्तो पर्छ । स्वदेशी मैदा उद्योगको वार्षिक उत्पादन क्षमता १६ लाख मेट्रिक टन छ । तर, गहुँ अभावले वार्षिक सरदर ६ लाख ५० हजार टनमात्रै उत्पादन गर्दै आएका छन् । अग्रवालले भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी गर्न दिँदा यसपालि त्यति पनि उत्पादन हुने स्थिति नभएको बताए । मुलुकमा अहिले स्वदेशी उत्पादनको गहुँ करीब सवा लाख टन छ । त्यसले ३६ ओटा उद्योगलाई बढीमा १ महीना धान्छ । उक्त मौज्दात सकिएपछि सबै मैदा उद्योग बन्द हुने अग्रवालले बताए ।

अघिल्लो वर्ष भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार रुपैयाँ मूल्यको ३ लाख ३५ हजार ९३२ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । जोगवनी नाकाबाट मात्र गतवर्ष २ अर्ब २० करोड मूल्यको ७ हजार ८ सय टन गहुँ आयात भएको थियो । भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी खुला राख्दा स्थानीय मैदा मिल बन्द गर्नुको विकल्प नरहेको मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास वेगवानीको भनाइ छ । 

यसअघि पनि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकीलाई कोटाअनुसार निर्यात गरेको थियो । रूस–युक्रेन तनावले विश्वभर गहुँलगायत अन्न आपूर्ति घटेको छ । गौमती फुडका सञ्चालक हरिवंश राठी स्थानीय उत्पादनले ३ महीना धान्ने र बाँकी ९ महीना भारतीय गहुँको भरमा नेपालका मैदा मिल चल्ने बताउँछन् । सरकारले भारत सरकारसँग कुरा गरेर गहुँ आयात सहज नगराए नेपालमा ठूलो अभाव सृजना हुने उनले बताए । केही वर्षअघि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकीलाई कोटा प्रणाली लागू गरेर निकासी गरेको स्मरण गर्दै राठीले भने, ‘नेपालको उत्पादनले असारसम्म जेनतेन धान्छ बाँकी नौ महीना हाहाकार हुन्छ ।’ हाहाकार हुन नदिन भारत सरकारसँग तत्कालै सरकारले सम्झौता गर्नुपर्ने उनको धारणा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)