कर्णाली । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई रू. ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो । विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार यहाँका १७ लाख नागरिकलाई बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।
‘अहिलेसम्म हामीकहाँ आएका ५३ विपद्पीडितमध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका छन्,’ उनले भने, ‘१४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरूको पनि अब छिट्टै भुक्तानी हुँदै छ ।’ मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइल ढिला आउँदा र विपद्बाट मृत्यु हुनेको सङ्ख्या थपिँदै जाँदा पीडित सबैको एकैचोटि भुक्तानी हुन नसकेको उनले बताए ।
राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै विवरण खुल्ने कागजात आइसकेकाले सम्बन्धित हकवालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताए । आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले बताए ।
आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालू आवमा जाजरकोटमा बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको जानकारी दिए । त्यस्तै हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालिकोटमा पहिरो र भीरबाट खसेर पाँच जनाको मृत्यु भएको उनले बताए ।
शाखा प्रमुख रोकायका अनुसार सुर्खेतमा बाढीबाट पाँच, जुम्लामा आगलागीबाट चार र रुकुमपश्चिममा बाढीबाट तीन, दैलेखमा दुई, डोल्पामा पहिरो, मुगुमा हिमपहिरो र सल्यानमा चट्याङबाट एक–एक जनाको मृत्यु भएको छ । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि रू. दुई लाख र आवास बीमाअन्तर्गत रू. पाँच लाख उपलब्ध गराउने उल्लेख छ । तर आवास बीमा हालसम्म शुरू नभएको बताइएको छ ।
त्यसैगरी कार्यविधिमा कर्णाली प्रदेशमा स्थायी बसोबास भएका नागरिकको हकमा देशका जुनसुकै भू–भागमा विपद्को घटनामा मृत्यु मृतकका हकवालालाई बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने भनिएको छ । त्यस्तै नेपालको जुनसुकै स्थानमा स्थायी घर भई प्रदेशका सरकारी, गैरसरकारी संघसंस्था वा अन्य निकायमा कार्यरत व्यक्तिको समेत विपद् दुर्घटनाका कारण मृत्यु भएमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्नेछ । रासस