असार २५, सुर्खेत । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ । वीरेन्द्रनगर–१२, नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले बहुगुणी फलफूलको रूपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेको हो ।
दुई वर्षअघि स्थानीय पदमा रावतका श्रीमानले फर्म सञ्चालन गरेका हुन् । श्रीमानको मृत्यु भएपछि भने अहिले पदमाले नै फर्म चलाउँदै आएकी छन् ।
करिव ७० लाख रूपैयाँको लगानीमा फर्म सञ्चालन गरिएको हो । फर्मले २८ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फ्रुटको खेती गरेको छ । फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ ।
हालसम्म एक क्विन्टलभन्दा बढी ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावतले जानकारी दिइन् ।
ड्रागन फ्रुट खेतीमा शुरूमा लगानी बढी लागे पनि पछि कमाइ राम्रो हुने गरेको उनले बताइन् । ‘ड्रागन फ्रुट खेतीका लागि शुरूमा जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा, सिमेन्टको पोल लगायतमा खर्च गर्नुपर्छ । त्यसैले लगानी बढी लाग्छ,’ उनले भनिन्, ‘उत्पादन हुन थालेपछि कमाइ पनि राम्रै हुन्छ ।’ खेती गरेकोे एक–डेढ वर्षमा उत्पादन दिने गरेको उनले बताइन् ।
रातो ड्रागन फ्रुटको मूल्य अहिले प्रतिकिलो ६ सयदेखि एक हजार रूपैयाँ छ । ड्रागन फ्रुटको बोटले वर्षमा चार पटक उत्पादन दिने उनले बताइन् । एक सिजनमा प्रतिबोटबाट ५–१३ किलो फल उत्पादन हुने बुढाको अपेक्षा छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको उनले बताइन् ।
ड्रागन फ्रुटसँगै त्यसको बिरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य छ ।
‘विक्रीमा समस्या भए प्रदेश सरकारले सहजीकरण गर्छ’
फर्म अवलोकन गर्न पुगेका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारले किसानका लागि प्रोत्साहन कार्यक्रमसँगै अनुदान प्याकेजसमेत ल्याएको जानकारी दिए । उनले ड्रागन फ्रुट विक्रीमा समस्या भए प्रदेश सरकारले सहजीकरण गरिदिने प्रतिवद्धता व्यक्त गरे ।
जिल्लाभर विस्तार हुँदै खेती
ड्रागन फ्रुट खेतीको सम्भावना देखेपछि जिल्लाभर यसको खेती भइरहेको छ । बजार समस्या नहुने र पोषक तत्व पनि बढी पाइने भएकाले ड्रागन फ्रुट खेती गर्ने बढिरहेको उनको भनाइ छ । ‘१४ थरी फलमा पाइने पोषण तत्व ड्रागन फ्रुटमै पाइने अध्ययनले देखाएको छ । त्यसैले यो खेतीतर्फ किसानको आकर्षण बढेको हो,’ उनले भनिन् ।
यो गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फूल हो । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको कतिपयको दाबी छ । यसले कब्जियतलाई निको पार्ने अध्ययनले देखाएको छ ।
यस फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डीसमेत बनाउन सकिन्छ ।