ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुटमा एन्टी डम्पिङबापत भारतलाई वार्षिक ३० करोड बुझाउँछन् नेपाली उद्योगी, हटाउन पहल गरिदिन माग 

२०७९ असार, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सबैभन्दा बढी मजदूरलाई रोजगारी दिने जुट उद्योगको उत्पादनमा भारतले लगाउँदै आएको ४ प्रतिशतसम्मको एन्टी डम्पिङ ड्युटी (एडीडी) नहट्दा उद्योगी मारमा परेका छन् । नेपाल सरकारबाट प्रभावकारी कूटनीतिक पहल हुन नसक्दा जुट उद्योगीका समस्या सम्बोधन हुन नसकेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयबाट सामान्य पत्र लेख्ने कामबाहेक एडीडी हटाउन प्रभावकारी पहल नहुँदा ५ वर्षदेखि नेपाली उद्योगले ४ प्रतिशत एन्टी डम्पिङ ड्युटी तिरेर पनि भारतमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली उत्पादनमा एन्टी डम्पिङ ड्युटी लगाएको भारतले बंगलादेशबाट आउने जुटका वस्तुमा त्यस्तो ड्युटी लगाएको छैन । 

नेपाली उद्योगीले एन्टी डम्पिङबापत भारत सरकारलाई ३० करोड रुपैयाँ वार्षिक शुल्क बुझाउँदै आएका छन् । तर, बंगलादेशका उद्योगले एक पैसा बुझाउँदैनन् । नेपाली उद्योगले वार्षिक साढे ७ अर्ब रुपैयाँको तयारी जुट निकासी गर्दै आएका छन् । 

५० प्रतिशतभन्दा बढी कच्चा जुट भारतबाटै ल्याएर नेपालका उद्योगले वस्तु उत्पादन गरी भारतीय बजारमा विक्री गर्दै आएका छन् । भारतीय जुट बजारमा नेपालको उत्पादनले मुश्किलले २ प्रतिशत स्थान ओगट्छ । प्रविधि, कच्चा पदार्थ, मेशिनरी र प्राविधिकसमेत भारतकै प्रयोग हुन्छन् ।

नेपालका मोरङ र सुनसरीमा सञ्चालित जुटमिल सीमाक्षेत्रनजिकै भएकाले तिनमा काम गर्ने मजदूरसमेत भारतबाटै आउँछन् । भारत सरकारले खाद्यान्न प्याकेजिङमा अनिवार्य जुटको बोरा प्रयोग गर्नुपर्ने नीति लिएको छ । तर, त्यसले नपुगेर प्लास्टिक बोरामा समेत खाद्यान्न प्याकिङ गरिरहेको छ । यो सन्दर्भमा नेपाली जुटको तयारी वस्तुले भारत सरकारको नीतिलाई नै सघाउ पुर्‍याएको आधारमा नेपाली उद्योगका उत्पादनमा लाग्ने एडीडी हटाउन नेपालले पहल गर्नुपर्ने नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा बताउँछन् । 

एन्टी डम्पिङ ड्युटीको कारण भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेका कारण सरकारले भारत सरकारसँग वार्ता गरेर वा कूटनीति माध्यमबाट उक्त ड्युटी खारेज गर्न पहल गर्नुपर्ने उनले बताए । नेपालका जुट उद्योगमा ३० हजार मजदूर कार्यरत छन् । नेपाली जुटका उत्पादनमाथि भारतमा ५ वर्षदेखि एन्टी डम्पिङ ड्युटी लागिरहेको छ । भारत सरकारले प्रत्येक ५ वर्षमा ड्युटी पुनरवलोकन गर्छ । नेपाली जुटका उत्पादनमा उसले एन्टी डम्पिङ ड्युटी लगाएको ५ वर्ष पूरा भएको छ । उद्योगीहरू भारतले ड्युटी पुनरवलोकन गर्नुअघि नै सरकारले वार्ता गरे उक्त ड्युटी खारेज हुन सक्ने बताउँछन् ।
०००
पाँच वर्षअघि भारत सरकारसमक्ष नेपाल जुट उद्योग संघले एडीडी हटाउन पटकपटक माग गरेपछि भारतीय करविज्ञको टोली आएर मोरङ र सुनसरीका जुट उद्योगको स्थलगत भ्रमण गरी फरकफरक उत्पादनमा फरकफरक दरले ड्युटी लगाउने निर्णय गरेको थियो । 

फरकफरक जुट उद्योगका फरकफरक उत्पादनमा कुनैमा ३, कुनैमा ३ दशमलव २५ कुनैमा साढे ३, कुनैमा ३ दशमलव ७५ र कुनैमा ४ प्रतिशत ड्युटी लगाइएको छ । 
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष एवम् स्वस्तिक जुटका सञ्चालक रमेश राठीले नेपाल जस्तै बंगलादेशले पनि जुटको तयारी वस्तु भारतीय बजारमा पठाइरहेको तर त्यसमा भारतले ड्युटी नलगाएको बताउँछन् । भारतले बंगलादेशका १६ जुट उद्योगका उत्पादनमा एन्टी डम्पिङ ड्युटी नलाउने निर्णय गरेको छ । यसको फाइदा उठाउँदै बंगलादेशका अन्य जुट उद्योगको उत्पादन पनि तिनै १६ का नाममा भारतीय बजारमा आइरहेको बताइन्छ ।

नेपालका ११ जुट उद्योगमध्ये ६ ओटा बन्द छन् । अरिहन्त, रघुपति, स्वस्तिक, बाबा र नेपाल सञ्चालनमा छन् । नेपाल सरकारले भारत सरकारसँग वार्ता गरेर एडीडीको समस्या समाधान गरे कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेका उद्योगले राहत पाउने राठीको धारणा छ । भारत सरकारले एडीडी खारेज गरे उद्योगहरूले उत्पादन क्षमता बढाउने हुँदा थप रोजगारी सृजना हुने बताउँछन्, राठी । 

भारत सरकारले एडीडीसँगै साढे १२ प्रतिशत काउन्टरभेलिङ ड्युटी (सीभीडी) लगाएको थियो । नेपालबाट निर्यात भई जाने जुटका वस्तुमा १७ जुलाई २०१५ देखि १२ प्रतिशत काउन्टरभेलिङ ड्युटी (सीभीडी) लगाएको थियो । यसपछि जुट उद्योगीले भारत सरकारसित यसलाई हटाइदिन धेरै अनुरोध गरे । 

जुट उद्योगीले भारत सरकारकै सुझावअनुसार १६ डिसेम्बर २०१६ मा त्यहाँको केन्द्रीय अर्थ मन्त्रालयको राजस्व विभागमा सीभीडीविरुद्ध प्रोटेस्ट लेटर दर्ता पनि गराए । त्यही दिनदेखि भन्सारमा सीभीडीको रकम धरौटीका रूपमा राख्न थाले । भारत सरकारले नेपालका जुट उद्योगका उत्पादनमा लागेको सीभीडी २० अप्रिल २०१७ मा फिर्ता लियो । तर, प्रोटेस्ट अवधिभरको सीभीडी रकम नियमअनुसार फिर्ता गर्नुपर्ने भए पनि गरेको छैन । नेपाली उद्योगीको धरौटीबापतको २० करोड रुपैयाँ भारत सरकारले अझै फिर्ता गरेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)