ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन दिनमा ४ हजार बोरा मल वितरण

२०७९ सावन, ३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बर्खे रोपाइँसँगै धानमा हाल्न डीएपी र युरिया मल पाएपछि मोरङका किसान उत्साहित छन् । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, विराटनगरले पाएको कोटामध्ये २ हजार १२५ मेट्रिक टन डीएपी र १ हजार ४०० मेट्रिक टन युरिया मल वितरण गरिसकेको छ । गत बुधवार, बिहीवार र शुक्रवार मात्रै ४ हजार बोरा अर्थात् २०० टन डीएपी मल किसानलाई वितरण गरिएको छ । कम्पनीले असार मसान्तसम्ममा डीएपी २ हजार ९७२ दशमलव ९५ मेट्रिक टन र युरिया मल ६ हजार ६८५ दशमलव ५ मेट्रिक टन वितरण गरेको छ ।

सुनसरीको गढी गाउँपालिकाका किसान भुवनेश्वर यादव धानबालीमा छर्न समयमै डीएपी मल पाएकोमा दंग छन् । चन्द्रोदय कृषि सहकारी संस्थामा आएको मलमध्ये उनले आफ्नो दुई बिगाहा जमीनका लागि ६ बोरा मल पाएका छन् । ‘सरकारी अनुदानको मल पाइयो, भारतीय कमसल मल प्रयोग गर्नुपरेन, अब यो पटक धान पनि बढी फल्छ,’ उनले भने ।

त्यसैगरी सुनसरी छिटाहाका किसान सुरेनप्रसाद मेहताले पनि यो सिजनमा रोपाइँकै चटारोका बीच मल पाएकोमा ढुक्क भएको बताए । ‘नत्र धान रोपाइँ गरेर मलका लागि चारदिशा दौडनुपथ्र्याे, यसपालि बेलैमा मल पाइयो, अब ढुक्क भयो,’ उनले भने ।

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका किसान नीरबहादुर पराजुलीले एक बिघा जमीनमा रोपाइँ सिध्याएपछि गाउँकै कृषि सहकारीबाट डीएपी र यूरिया मल पाए । सरकारले अनुदानमा किसानलाई वितरण गर्दै आएको मल पाएपछि उनी लगायत सो क्षेत्रका किसान अहिले दंग छन् ।

साल्ट ट्रेडिङको प्रदेश कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीका अनुसार विराटनगर कार्यालयले अहिले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभालाई उक्त परिमाणको मल वितरण गरेको हो । झापाको बिर्तामोडमा रहेको कम्पनीको शाखाबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई मल वितरण भइरहेको छ ।

त्यसैगरी ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई सिरहाको लाहान शाखाबाट मल वितरण भइरहेको छ । लहानबाट नजिक पर्ने भएकाले मधेश प्रदेशबाट एक नम्बर प्रदेशका चार जिल्लामा मल वितरण गरिएको हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ७ प्रतिशत छ भने कुल कृषि उत्पादनमा २० प्रतिशत हिस्सा छ । सरकारले प्रतिबोरा (५० केजीको) डीएपी मलमा ४ हजार ५०० रुपैयाँ अनुदान दिँदै आएको छ । प्र्रदेश १ मा एक सिजनमा ७० हजार मेट्रिक टन मल आवश्यक पर्छ । समयमै मल पाउँदा कृषकले धानबालीमा हाल्न पाएको चौधरीले बताए । सरकारले वितरणका लागि दिएको कोटा अन्तर्गत आएको मल अहिले प्रदेश १ का १४ जिल्लामा वितरण भइरहेको उनले जानकारी दिए ।

प्रादेशिक मल समितिले पालिकाहरूलाई छुट्ट्याएको कोटाका आधारमा अहिले साल्ट ट्रेडिङले मल वितरण गरिरहेको छ । गाउँपालिकामा गठित मल समितिले सिफारिश गरेका डिलर र किसान सम्मिलित सहकारीमार्फत मल वितरण गरिँदै आएको छ । कम्पनीलाई सरकारले आवश्यकताको ३० प्रतिशत मल वितरण गर्ने अनुमति दिएको छ । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मल आवश्यक हुन्छ ।

प्रदेश १ को मोरङमा ८३ हजार ३०० हेक्टरमा धानखेती हुँदै आएको छ भने झापामा ६४ हजार हेक्टरमा धानखेती हुन्छ । त्यस्तै सुनसरीमा ५३ हजार हेक्टरमा धान रोप्ने गरिएको छ । यसैगरी ताप्लेजुङमा ८ हजार ७३७, संखुवासभामा १३ हजार ८५१, सोलुखम्बुमा १ हजार ५२५, पाँचथरमा ९ हजार २००, इलाममा १४ हजार ८१५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १७५, धनकुटामा ७ हजार ९५०, उदयपुरमा १३ हजार ३००, ओखलढुंगामा ४ हजार ४०० र खोटाङमा १२ हजार ८९३ हेक्टरमा धान रोपाइँ हुने गरेको प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)