ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफन्तको मृत्युको खबर दिने अनाैठाे एप, जसले मर्ने व्यक्तिकाे लेनदेनबारे पनि जानकारी दिन्छ !  

२०७९ साउन, ४  
समाचार प्रविधि र यो पनि स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

साउन ४, काठमाडौं । आफन्त वा परिवारका सदस्यकाे मृत्युको खबर मोबाइल एप्लिकेशनबाट पाउन सम्भव छ ? त्याे पनि गाेप्य सन्देश सहितकाे ? अधिकांशले जवाफ दिन्छन्– सम्भव छैन ।

तर, यो सम्भव गराएका छन् नेपाली सफ्टवेयर इञ्जिनियरले । हाल अस्ट्रेलियामा बस्दै आएका नेपाली इञ्जिनीयर अनुप कट्टेलले मृत्यु हुने व्यक्तिकाे परिवारका सदस्य वा आफन्तलाई गोप्य सन्देशसहित मृत्युको खबर पठाउने एप ‘सेफक्रेट’ बनाएका छन् ।

एप सार्वजनिक भएको ३ महीनामै विश्वका १० देशका ५०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । त्यसमा वेबसाइटबाट उक्त सेवा लिनेकाे संख्या पनि जाेडिएकाे छ। उक्त एप नेपालीसहित विभिन्न १२ ओटा भाषामा सञ्चालन गरिएको छ । 

कसरी बन्यो एप ?

आफ्नै परिवारमा घटेको घटनापछि उनलाई एप बनाउन प्रेरित गर्‍यो । घटना यस्तो रहेछ, नेपालमा आईएससीसम्मको अध्ययन सकेपछि  सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्न अस्ट्रेलिया गए ।  अध्ययन गर्न अस्ट्रेलिया गएका कट्टेलका २५ वर्षिया नजिकको सम्बन्धको भाई  सुतेकै अवस्थामा अस्ट्रेलियामै अस्ताए ।

उक्त घटनाले उनलाई निकै दुःखी बनायो । भाइको जीवनको अन्तिम समयमा आफू सँगै हुन नपाएकोमा उनलाई ग्लानी छ । ‘उसको (भाइको) कति इच्छा थियो होला, भन्नुपर्ने कति कुरा थिए होला । कुनै समस्या थियो कि, तनावमा थियो कि, कति ठाउँमा लिनदिन बाँकी थियो होला, घरमा कसैलाई केही भन्नु थियो होला, परिवारका लागि के के सोचेको थियो होला, यस्तै कुराले पिरोल्थ्यो,’ अभियानसँगको कुराकानीमा उनले भने । 

त्यसपछि मर्ने मान्छेका कुरा परिवारसम्म पुर्‍याउन ‘सेफक्रेट’ एप तयार पार्ने सोच पलाएको कट्टेल बताउँछन् । ‘सेफक्रेट’को ‘आइडिया’ भने सन् २०१९ मा अन्तरिक्षमा आधारित एउटा काल्पनिक कथा लेखनको क्रममा फुरेको उनको भनाइ छ । उक्त कथा लेख्दै गर्दा  एउटा जुक्ति फुरेको र त्यो मानिसहरूलाई पनि उपयोगी हुने लागेपछि ‘सेफक्रेट’ शुरु गरेको उनले बताए । 

उनलाई यो एप बनाउन ३ वर्ष लाग्यो । हालसम्म उनले एप बनाउनमा करिब ३ करोड रूपैयाँ खर्च गरिसकेका छन् । उनी यसलाई व्यापक बनाउन चाहान्छन् । उनीसँग अहिले ११ जना कर्मचारी रहेका छन् । उनको मुख्य कार्यालय अष्ट्रेलियामा छ । नेपालमा पनि शाखा कम्पनी खोल्ने तयारीमा रहेको उनले सुनाए । 

एप चलाउन कति लाग्छ शुल्क ? 

‘सेफ’ (सुरक्षित) र सेक्रेट (गोप्य) दुई अंग्रेजी शब्दलाई मिलाएर एपको नाम ‘सेफक्रेट’ राखेको उनी बताउँछन् । एप चलाउन वार्षिक ५ डलर शुल्क तिर्नुपर्ने उनको भनाइ छ । उक्त रकम तिरेपछि कम्पनीले एक म्यासेज पठाउने र त्यसपछि एप चलाउन मिल्ने उनले बताए । 

म्यासेजको संख्या अनुसार शुल्क समायोजन गर्ने तयारी भएको उनको भनाई छ । एपलाई निःशुल्क चलाउन दिँदा एकैपटक अनपेक्षित रूपमा प्रयोगकर्ता आउन सक्ने र त्यस्तो अवस्थामा व्यवस्थापन गर्न नसक्दा जोखिम निम्तिने डर उनलाई छ । 

अहिले एप चलाउन चाहनेले डलर कार्ड प्रयोग गरी शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ । नेपाली प्रयोगकर्ताको सहजताका लागि ई–सेवासँग सहकार्य गर्ने तयारी भएको उनले बताए । 

एप प्रयोगकर्ताका लागि हाल दुई ओटा प्याकेज राखिएको छ, जसमा एक वर्षे (निःशुल्क परीक्षणकाल) र पाँच वर्षे प्रिमियम प्याकेज छन् । एप प्रयोग गर्न चाहनेले वेबसाइट वा मोबाइल एपबाट अकाउन्ट खोलेपछि आफूलाई उपयुक्त लाग्ने प्याकेज छनोट गर्न सक्नेछन् । त्यसपछि आफ्नो मृत्युपछि गोप्य सन्देश कसलाई पठाउन चाहेको हो त्यो छनोट गर्नुपर्छ । त्यसको लागि उक्त म्यासेज पठाउन चाहेको व्यक्तिको मोबाइल नम्बर वा इमेल आईडी इन्ट्री गर्नुपर्छ । प्याकेज लिँदा एपमा ‘रेगुलर पिंग्स’ र ‘एस्कलेटेड पिंग्स’ छनोट गर्नुपर्छ । 

एपले कसरी गर्छ काम ?

प्रयोगकर्ताको मृत्यु भए/नभएको यकिन गरेपछि मात्रै एपले सम्बन्धित व्यक्तिको आफन्तलाई सन्देश पठाउँछ । एपले प्रयोगकर्तालाई समय समयमा लगइन गर्न अनुरोध गर्ने गरेको छ । तर, लगइन नभएको खण्डमा एपले अन्तिम पटक लगइन भएको दिनबाट केही दिनसम्म लगातार इमेल तथा मोबाइल नम्बरमा नोटिफिकेसन पठाउँछ । त्यसपछि प्रयोगकर्ताले कुनै प्रतिक्रिया जनाएन वा लगइन गरेन भने एपमार्फत मासिक, साप्ताहिक र दैनिकरूपमा नोटिफिकेसन पठाउँछ । त्यसपछि पनि प्रयोगकर्ता सम्पर्कमा नआए वा एप लगइन नगरे मोबाइल नम्बर वा इमेलमा ‘चेतावनी घण्टी’को रूपमा नोटिफिकेसन आउँछ ।

त्यो अवस्थासम्म पनि प्रयोगकर्ता सम्पर्कमा नआए सेफक्रेटको टिमले प्रयोगकर्ताको अन्य डिटेल्सबाट उसको अवस्थाबारे जानकारी लिन्छ । र, प्रयोगकर्ता सम्भावित खतरामा भएको जानकारी आफन्त वा विश्वासका मानिसलाई दिन्छ । साथै प्रयोगकर्तालाई सम्पर्क गर्न अनुरोध गर्छ । 

सँगसँगै एपले प्रयोगकर्ताको ‘मृत्यु’ भएको यकिन गर्छ । र, टिमले प्रयोगकर्ताको अवस्थाबारे भेरिफाई गरेर अनुमति दिएपछि एपमार्फत प्रयोगकर्ताको आफन्त वा नजिकको मान्छेलाई इमेलमा म्यासेजसहितको डिजिटल कोड पठाइन्छ, जसमा ‘तपाईंको मान्छेले तपाईंको नाममा गोप्य सन्देश छोड्नुभएको छ, हाल उहाँसँग सम्पर्क नभएकोले यो म्यासेज पठाइएको हो’ भन्ने सूचना हुन्छ । त्यससँगै उक्त म्यासेजमा डिजिटल कोड पनि पठाइएको हुन्छ । इमेलमार्फत उक्त कोड प्राप्त गर्नेले सेपक्रेटको वेबसाइट वा एपमा डिजिटल कोड राखेमा मोबाइल नम्बर वा इमेलमा भेरिफिकेसनका लागि ओटीपी कोड प्राप्त हुनेछ । उक्त कोड राखिसकेपछि एपमार्फत प्रयोगकर्ताले पठाउन चाहेको गोप्य म्यासेज देखिने उनले बताए । 

डाटा कति सुरक्षित  ?

आफू जीवित रहँदा भन्न नसकेको र मृत्युपछि मात्रै जानकारी गराउन खोजेको कुरा निकै संवेदनशील र गोप्य हुन्छन् । कट्टेल आफ्नो सम्पूर्ण प्रयास एप तथा म्यासेजलाई कसरी सुरक्षित बढाउने भन्नेमै केन्द्रित रहेको बताउँछन् । ‘डाटा सुरक्षामै सबैभन्दा बढी मेहनत गरेका छौं । एपमा रहेको डाटा सर्भरमा इन्क्रिप्ट भएर बसेको हुन्छ, यसका लागि एईएस २५६ इन्क्रिप्सन र आरएसए ४०९६ विथ हार्डवेयर सेक्युरिटी मोडेल प्रयोग गरिएको छ । एईएस २५६ क्वान्टम कम्प्युटरले पनि तोड्न सक्दैन,’ उनले भने ।

प्रयोगकर्ताले एपमा राखेको म्यासेज, प्रापकको इमेल तथा मोबाइल नम्बर परिवर्तन गर्न चाहेको खण्डमा जुनसुकै बेला परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)