ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारत निकासी भइसकेको सुपारीमा प्रहरी हस्तक्षेप

२०७९ साउन, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारतीय भन्सारले समेत राजस्व लिएर भन्सार पास गरी मीरगञ्ज पुल भासिएको कारण नेपालको भन्टाबारी नाकाबाट आयात अनुमति दिएको २१९ दशमलव ५९ मेट्रिक टन सुपारीसहितका ८ भारतीय ट्रक नेपाल प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएपछि प्रहरीको कारबाहीको दायराका विषयमा प्रश्न उठाइएको छ । उक्त सुपारी नेपाली मूल्य ४०० रुपैयाँ किलोको दरले ८ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको हो ।

भारतीय भन्सार कार्यालयले सुपारी नेपालको हो/होइन जाँच्न कोलकाताको ल्याबमा पठाएको र त्यहाँको किसान कल्याण विभागबाट आयात अनुमति पाएपछि जीएसटीसहितको कर लिएर सामान शिल गरी आयात अनुमति दिएको थियो । तर, जोगवनी भन्सारबाट ५ किलोमीटर पश्चिममा रहेको मीरगञ्ज पुलमा ८ टनभन्दा बढी वजनका गाडी आउजाउ गर्न बन्द गरिएको कारण नेपालकै भन्टाबारी नाका हुँदै भीमनगर प्रवेशका लागि रि–रुट भएर विराटनगरको रानी आउँदै गरेका ८ ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

जोगवनी भन्सारले विराटनगर भन्सारलाई पत्र लेख्दै आफ्नो भन्सार कार्यालयबाट सबै कानूनी प्रक्रिया पूरा गरेर रि–रुट गरी भीमनगर भन्सारबाट आयात अनुमति दिएको सुपारी किन नेपाल प्रहरीले रोकेको भनेर पत्र पठाएको छ । नेपाल–भारत वाणिज्य सन्धिमा भारतीय भन्सारले चेकजाँच गरी शिल गरेको सामान नेपाली बाटोबाट भारत प्रवेश गर्दा नेपाल प्रहरीले चेक जाँच गर्न पाउने प्रावधान छैन । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले उत्पत्तिको प्रमाणपत्रलगायत सम्पूर्ण कागजातका आधारमा २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी निकासीको अनुमति दिइएको बताए । सापकोटाका अनुसार उक्त सुपारी नेपालमा उत्पादित हो/होइन जाँच्ने ल्याब नेपालमा छैन । त्यसैले भारतीय भन्सारले उक्त सुपारी नेपालको हो/होइन र आयात अनुमति दिन मिल्छ/मिल्दैन बुझ्न कोलाकातास्थित ल्याबमा परीक्षणका लागि पठाउने र ल्याब रिपोर्टका आधारमा अनुमति दिने/नदिने निर्णय गर्छ ।

यसअघि जुन प्रक्रिया र कागजातका आधारमा सुपारी निकासी हुँदै आएको थियो आफूले त्यही आधारमा निकासी अनुमति दिएको सापकोटाले बताए ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख तीर्थराज खनालले आफूलाई प्रहरीले नेपालबाट भारत जाँदै गरेको सुपारी विराटनगरको सीमाक्षेत्रबाट पक्राउ गरेको भनेको आधारमा कार्यालयमा बुझाउन स्वीकृति दिएको बताए । उक्त सुपारी भारतीय भन्सारबाट जीएसटी काटेर आयातको स्वीकृति लिई रि–रुट गरेर कानूनी रूपमै भारत जान लागेको कुरा पछि थाहा पाएको उनले बताए । भारतीय भन्सार जोगवनीले आफूलाई सुपारी रोकेको विषयमा मौखिक कुरा गरे पनि आफूले नेपालकै आधिकारिक निकायबाट पत्र नआएसम्म छाड्न नमिल्ने जानकारी दिएको बताए ।

६ दिनअघि प्रहरीले पक्राउ गरेको सुपारी ३ दिनदेखि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा ट्रकमै छ । सुपारी निर्यात गर्ने कम्पनी मनोकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले आवश्यक कागजात पेश गर्दै सुपारीको गाडी छाडी दिन राजस्व कार्यालयमा निवेदन दिएका छन् । सुपारी कहाँको उत्पादन हो भनी परीक्षण गर्ने ल्याब राजस्व कार्यालयमा समेत छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले स्थानीयबाट ठूलो परिमाणमा सुपारी निकासी भइरहेको सूचना आएपछि कानूनी गैरकानूनी के हो भनेर पक्राउ गरिएको बताए । जोगवनी भन्सारबाट पास भएर रि–रुट भएको जानकारी आफूलाई नभएको उनको दाबी छ । उनले गाडी पक्राउ गर्दा कुनै पनि कागजात नभेटिएकाले आठओटै ट्रक राजस्व अनुसन्धानमा बुझाएको बताए । उनले भने, ‘स्थानीयको सूचनाको आधारमा पक्राउ गरिएको हो, चेकजाँच गर्दा आवश्यक कागजात फेला नपरेपछि राजस्वमा बुझाएको हो ।’

सुपारी निर्यातकर्ता घिमिरेले असारमा ८० ट्रक सुपारी यसैगरी निर्यात गरेको बताए । उनले झापाका किसानबाट किनेर भारत पठाउँदै आएको बताए । विराटनगर भन्सारबाट गतवर्ष ९० करोड ६७ लाखको २२ लाख ४८ हजार किलोभन्दा बढी सुपारी निर्यात भएको तथ्यांक छ । गतवर्ष नै ५७ लाख ८४ हजार किलो सुपारी इन्डोनेशियाबाट विराटनगर भन्सार हुँदै नेपाल भित्रिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)