ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर जुट मिल चलाइन्छ : उद्योगमन्त्री

२०७९ साउन, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । यसअघिका दुई उद्योगमन्त्रीले देशकै पहिलो उद्योग विराटनगर जुटमिल सञ्चालन गर्ने तयारी गरे पनि सकेनन् । अहिलेका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि जुटमिल सञ्चालन गर्ने तदारुकता देखाएका छन् । उनले बन्द भएर जीर्ण बनेको ऐतिहासिक विराटनगर जुटमिलको अवलोकन गरेका छन् । यसअघि तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवले २०७५ वैशाख २२ गते जुटमिल अवलोकन गर्दै तत्काल उद्योग सञ्चालन गर्ने बताएका थिए ।

त्यसअघिका उद्योगमन्त्री महेश बस्नेतले पनि जुटमिल सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, उनको पालामा नियुक्त जुटमिलका अध्यक्ष नीलहरि काफ्ले विवादित बन्दै बाहिरिए । मन्त्री बस्नेतको प्रयास पनि असफल रह्यो ।

त्यसको ६ महीनापछि २०७५ असोज ३० गते जुटमिल प्रशासनले मिल सञ्चालन भएको भन्दै केही उत्पादित वस्तु विक्रीको तयारी भएको प्रचार गर्‍यो । ती सामान उत्पादन हुनुभन्दा १० वर्षअघि नै जुटमिल बन्द भइसकेको थियो । उत्पादन बन्द भएको १० वर्षपछि उत्पादित २४ टन जुटको सुतली विक्री गर्ने मिलले जानकारी दिएको थियो । तर, जुटमिल बन्द भयो । त्यहाँ ल्याइएका कच्चा जुट खेर गयो । सर्भिसिङ गराएर चल्न थालेका मेशिन अहिले बन्द छन् ।

यही बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले जुटमिल चलाउने तयारी भएको बताएका छन् । अवलोकनका क्रममा उनले जुटमिल चलाउने बताएका हुन् । बडूका अनुसार विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, नेपाल मेटल, गोरखकाली रबर उद्योग, हटौंडा कपडा उद्योग, नेपाल ओरिन्ड म्याग्नेसाइट उद्योग, वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि अध्ययनको काम शुरू गरिएको छ ।

‘नेपाली उपभोक्ताका लागि नेपाली उत्पादन प्राथमिकतामा राखेर मात्रै आयात प्रतिस्थापन गर्न सकिन्छ,’ मन्त्री बडूले भने, ‘पीपीपीमा, लिजमा वा सरकार आफैले रुग्ण उद्योग सञ्चालनमा ल्याउनेछ । त्यसका लागि कार्यदल गठन गरेर अध्ययन गरिरहेका छौं । रुग्ण उद्योगको स्थलगत निरीक्षणका लागि म आफै आइरहेको छु ।’ बडूले पूर्ण रूपमा उत्पादन बन्द रहेको जुटमिल सञ्चालनमा ल्याएर स्थानीय बासिन्दाको रोजीरोटी सुनिश्चित गर्ने दाबी गरे । ४६ बिगाहा क्षेत्रफलमा फैलिएको विराटनगर जुट मिलको विभिन्न स्थानमा ६९ बिगाहा जमीन छ । अहिले दैनिक २४ जना कर्मचारी जुटमिलमा आउने गरेका छन् । ४६ कर्मचारीको ४ करोड १० लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । अहिले जुटमिल सञ्चालक समितिसमेत छैन । जुटमिल सञ्चालक समितिमा सरकारबाट ३ जना र निजीक्षेत्रका शेयरधनीका तर्फबाट ४ जना रहने व्यवस्था छ । विराटनगर जुट मिल्स १९९३ असार ३० गते स्थापना भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)