ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मौद्रिक नीतिले पार्ने प्रभाव र संकटोन्मुख अर्थतन्त्र’ विषयक कार्यक्रम : आयात न्यूनीकरण र आन्तरिक उत्पादनमा विज्ञहरूको जोड

२०७९ साउन, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । नेपालले बाह्य ऋण धेरै नलिएर आयात घटाउँदै गए अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नहुने विज्ञहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको ‘मौद्रिक नीतिले पार्ने प्रभाव र संकटोन्मुख अर्थतन्त्र’ विषयक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र पूर्व रक्षा एवं परराष्ट्रमन्त्री डा. मीनेन्द्र रिजालले विदेशी मुद्रा सञ्चिति वृद्धि, आयात न्यूनीकरण र आन्तरिक उत्पादन प्रवर्द्धनमा जोड दिएका छन् । यी आधारभूत काम गर्न सके अर्थतन्त्र दीर्घकालीन रूपमै संकटबाट बच्ने धारणा उनीहरूले राखेका छन् ।

पूर्वअर्थमन्त्री खतिवडाले छोटो अवधिको विदेशी ऋण र महत्त्वाकांक्षी ठूला योजनाको नकारात्मक परिणाम अहिले श्रीलंकाले भोगिरहेको बताए । विदेशी मुद्रा आर्जन हुने क्षेत्रमा बाहेक ठूला आयोजनामा बाह्य ऋण लिन नहुने उनले सुझाए ।

यस्तै अहिले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिले आंशिक मात्रै गर्न सक्ने खतिवडाले बताए । ‘समस्याको दीर्घकालीन समाधानका लागि राज्यका सबै संयन्त्र एक ठाउँमा बसेर उपाय खोज्नुपर्छ,’ उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री रिजालले भने कुनै पनि देशको विकास गर्न आवश्यकता र सम्भाव्यताको आधारमा उपयुक्त नीति लिनुपर्नेमा जोड दिए । ‘अमेरिकाले रेलको विकासले आफूलाई अघि बढायो । त्यस्तै विकासको कुन बाटो अपनाउने भन्नेमा हामी निश्चित हुनुपर्छ,’ उनले भने, ‘ठूला आयोजनामा हाम्रो क्षमताले नै नधान्नेगरी विदेशी ऋण लिनु भएन । मुलुकभित्रकै पूँजी परिचालनले सम्पन्न गर्न सकिने विकास मोडेलमा जानुपर्छ ।’

पर्यटन क्षेत्रको विकासले मात्र मुलुकको दीर्घकालीन विकास हुनेमा रिजालले जोड दिए । ‘प्रविधिको विकाससँगै सेवा र पर्यटनको क्षेत्रमा लगानी गर्‍यौं भने त्यसले हामीलाई दीर्घकालीन फाइदा पुग्छ र त्यसबाट विदेशी मुद्रा पनि आम्दानी हुन्छ,’ उनले भने, ‘पर्यटनको पूर्वाधारमा लगानी बढाउनुपर्छ ।’

कार्यक्रमको प्रश्नोत्तर सत्रमा उठेको जिज्ञासाको जवाफ दिँदै पूर्वअर्थमन्त्री खतिवडाले आफू अर्थमन्त्री हुँदा वस्तुहरूको वर्गीकरण गरेरअनुदान दिइएको बताए । २० प्रतिशत पनि ‘भ्यालू एड’ नगर्ने वस्तुमा बजेटमार्फत ८ प्रतिशत अनुदान दिने व्यवस्था हचुवाको भरमा गरिएको उनको टिप्पणी थियो ।

बजेटमा कहिलेकाहीँ मानवीय त्रुटि हुने, तर त्यसलाई सच्याउन सकिने खतिवडाले बताए । ‘केही निश्चित उद्योगलाई लाभ हुने, तर ३०औं उद्योग र खर्बाौंको लगानी जोखिममा पर्छ भने त्यो सच्याउनुपर्छ,’ उनले भने, ‘उद्योग मारेर कर उठाउने होइन, उद्योगीलाई भएको लाभमा कर लगाउने हो ।’ कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले निजीक्षेत्र उत्साहित भएर अघि बढ्न खोजे पनि परिस्थिति र राज्यको नीतिले रोक्ने गरेको बताए । ‘१० वर्षे सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिडको कारण थला परेको अर्थतन्त्रलाई फेरि पनि माथि उठाउन हामी लागिपरेका छौं,’ उनले भने, ‘मुलुकमा व्यावसायिक वातावरण नै हाम्रो माग हो । व्यवस्थित आर्थिक क्षेत्र, पूर्वाधार र गुणस्तरीय बिजुली भए आर्थिक व्यावसायिक क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)