सुर्खेत (अस) । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन लगायतका जरीवानाबापत गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ३२ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ३५ दशमलव ८२ प्रतिशतले बढी हो । सो आर्थिक वर्षमा कार्यालयले २ करोड ४४ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशभर ४०२ ओटा सडक दुर्घटना भएका छन्, जसमा १९७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २३ र आर्थिक वर्ष २०७७/७८ मा २९१ सडक दुर्घटना भएका थिए ।
पछिल्लो तीन आर्थिक वर्षमा सडक दुर्घटनाबाट ८७६ मानवीय र २१ पशुचौपायाको क्षति भएको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष २०७६/७७ मा कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण सवारीसाधन कम चल्दा दुर्घटना पनि कम भएका थिए । दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको प्रहरीको भनाइ छ ।