धनकुटा । पूर्वको प्रसिद्ध पर्यटकीय नगर धनकुटाको भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा १० वर्षअघिबाट शुरू भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो । आयोजना शुरू भएको लामो समय बित्दा पनि निर्माण पूरा नहुँदा स्थानीयवासी शुद्ध पिउने पानीबाट वञ्चित थिए । पछिल्लो समय खानेपानी सञ्चालनमा आएसँगै स्थानीयमा खुशी छाएको छ ।
२०६९ सालमा तत्कालीन खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले शुरू गरेको आयोजनाको काम संघीय संरचनापछि प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो । खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जामन्त्री रामकुमार राईले सुस्तगतिमा भइरहेका अन्य आयोजना पनि चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याउने बताए । प्रदेश सरकार तथा स्थानीयको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँ खर्चेर खानेपानी आयोजना निर्माण गरिएको हो । स्थानीय सिरिसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करीब डेढ किलोमिटर माथि भेडेटारमा खानेपानी ल्याइएको हो ।
लिफ्टमार्फत ल्याइएको पानी डाँडामा एक–एक लाख लिटरका तीनओटा ट्यांकीमा संकलन गरी अन्य ५० हजार लिटरका दुई र १२ हजार लिटरका तीनओटा ट्यांकीमार्फत वितरण गर्नेगरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए । अब आयोजनाको सुरक्षाको जिम्मा स्थानीयको भएको उनले बताए ।
आयोजना सम्पन्न नहुँदा भेडेटारमा दैनिक आउने २ हजार पर्यटकलाई पाल्ने होटलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । यस्तै आयोजना मार्फत साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारका १४७ घरधुरी लाभान्वित हुने भएका छन् ।