ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै

२०७९ साउन, ३१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

साउन ३१, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीवन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । संघीय सरकारले चालू आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)सम्बन्धी कार्य सँगसँगै शुरू भएको हो ।

सरकारले चालू आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि रू. ४ करोड ४२ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगंगा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट–घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनीयरिङ विभाग प्रमुख मुरारि भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिए ।

‘वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि शुरू गरिएको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौं ।’ विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुंगो लागिसकेको उनले बताए ।

प्राधिकरणका इन्जिनीयरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे)को लम्बाइ २ हजार ५०० मिटर र चौडाइ ४५ मिटरको हुनेछ । २२४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग १ हजार २९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ । रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम शुरू गरिएको प्राधिकरणको भनाइ छ । यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु–मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिक रूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गतवर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो । प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करीब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो, जसका लागि प्रदेश सरकार र संघीय सरकारले बजेटसमेत छुट्ट्याएका थिए । तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो ।

सुर्खेत उपत्यकामा रहेको विमानस्थलको धावनमार्ग थप ३०० मिटर विस्तार गर्दा मात्र २०० निजी घर, जग्गा र विद्यालयजस्ता सार्वजनिक संरचनामा क्षति पुग्ने अध्ययनले देखाएको थियो । ‘सुर्खेत विमानस्थल विस्तार प्राविधिक र आर्थिक दुवै हिसाबले खर्चिलो देखियो, लगानीअनुसार प्रतिफल आउने सम्भावना नदेखेपछि विकल्पको खोजी गरेका हौं,’ प्राधिकरणका इन्जिनीयरिङ विभाग प्रमुख भण्डारीले भने, ‘अहिले प्रस्ताव गरिएको स्थानको एप्रोच राम्रो छ, टु वे (दुई बाटो) सञ्चालन गर्न सकिन्छ ।’

प्रस्तावित विमानस्थल जंगल क्षेत्रमा निर्माण हुने भएकाले जग्गा, मुआब्जालगायतमा विवाद नहुने बताइएको छ । अध्ययन टोलीले वातावरणीय प्रभाव मूल्यांकनका लागि स्थानीयवासीसँग राय/सुझाव संकलनको काम थालेको छ । प्राधिकरणले प्रभावित क्षेत्रका सरोकारवाला नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग वातावरणीय प्रभावबारे सात दिनभित्र लिखित राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुनु गौरवको विषय भएको बताए । ‘प्रारम्भिक चरणका काम शुरू गरिएको छ, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माणको क्रममा कुनै समस्या आइपरे हामी समन्वयकारी भूमिकाका लागि तयार छौं,’ उनले भने । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)