गमगढी । मुगुको छायानाथ रारा नगरपालिका–४, ताल्चामा रहेको रारा विमानस्थलको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामा छ । २०६० सालमा कच्ची धावन मार्गमा जहाज उडान र अवतरण शुरु गरिएको थियो । उडान अवतरण शुरु भएको दुई दशक हुन लाग्दा पनि सुविधायुक्त टर्मिनल भवन निर्माण हुन नसक्दा टावर काठको टहरामा राख्नुपर्ने बाध्यता रहेको हो ।
२०६० वैशाख ३ गते पहिलोपटक रारा विमानस्थलमा परीक्षण उडान गरिएको थियो । १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि टर्मिनल भवन भने सामान्य हावा लाग्दा पनि हल्लिने गरेको बताइन्छ । जोखिम मोलेर कर्मचारी टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमै बस्ने गरेका छन् ।
सुविधायुक्त टर्मिनल टावरको निर्माण जारी छ । ठेकेदारको ढिलासुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । २०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्यामा छ ।
टर्मिनल भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि ९ करोड रूपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुश्किलले ५० प्रतिशत काम पूरा भएको नागरिक उड्डयन कार्यालय, मुगुका प्रमुख सन्तोषकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार भौगोलिक विकटताले समयमा सामान ढुवानी नहुँदा र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम अघि बढ्न सकेन । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर घेराबार हुनुपर्नेमा सामान्य तारले बारिएको समेत छैन । विमानस्थलको चारैतिर मानिस, पशु, गाईगोरु, कुकुर, स्याल हिँड्ने बाटो छ । रासस