ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन अर्थमन्त्री शर्माले दिए निर्देशन        

२०७९ भदौ, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भदौ १६, सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

बिहीवार सुर्खेतस्थित बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिए । अर्थमन्त्री शर्माले बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने बताए ।

बीमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो । ‘बीमा सेवा गाउँ–गाउँसम्म पुग्नु सङ्घीयताको एउटा आयाम हो, वित्तीय र बीमा साक्षरताका कार्यक्रम लिएर ग्रामीण भेगका जनतासम्म पुग्न जरुरी छ’, अर्थमन्त्री शर्माले भने, ‘कर्णालीका ११ प्रतिशत नागरिकमात्र बीमाको पहुँचमा छन्, यो धेरै कम हो, किसानका स–साना समूह बनाएर प्रशिक्षण गरौं ।’     

बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको भन्दै उनले थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गरे । ‘सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्‍याउने लक्ष्य लिएको छ, बीमा कम्पनीहरू पनि त्यहाँसम्म पुग्नुपर्‍यो’, उनले भने, ‘कर्णालीका सबै पालिकामा अनिवार्य पुग्ने गरी कार्यक्रम बनाउनुस् ।’     
     
बीमा समितिले बिमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बीमा साक्षरता, बिमक बिमितका समस्या समाधान गर्नुपर्ने बताउँदै अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बीमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिए।     
     
उनले  भने, ‘सरकारले नयाँ विधेयकमा बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेकाले जनशक्ति व्यवस्थापनका लागि पनि छुट्टै कलेजको आवश्यकता छ, बीमासम्बन्धी पाठ्यक्रम बनाएर सरकारले कलेज स्थापना गर्छ ।’ 

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुने बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)