ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करको दर सच्चिएपछि ३ जीआई वायर उद्योग चल्न थाले

२०७९ असोज, ५  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कको दर वृद्धिका कारण बन्द भएका सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ जीआई वायर उद्योगमध्ये तीनओटा सञ्चालनमा आएका छन् । बजेटमार्फत बढाइएको करका दर मन्त्रिपरिषद्को निर्णयबाट सच्याइएपछि बन्द भएका उद्योग सञ्चालनमा आएका हुन् । बाँकी दुई उद्योग पनि सञ्चालनको तयारीमा छन् । 

प्रिमियर वायर्स प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड र पायोनियर वायर्स प्रालिले पुनः उत्पादन शुरू गरेका हुन् । कमला वायर र अरिहन्त वायरले भने केही दिनभित्रै उत्पादन शुरू गर्ने तयारी गरेका छन् । अर्थमन्त्रीले चालू आर्थिक वर्षको बजेटमार्फत जीआई वायरको कच्चा पदार्थमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क बढाएपछि ती उद्योग ४ महीनादेखि बन्द थिए । उद्योग बन्द हुँदा २ हजारभन्दा बढी मजदूर बेरोजगार बनेका थिए । 

अर्थमन्त्रीले पछिल्लो समय बढाएको करका दर मन्त्रिपरिषद्को निर्णयबाट सच्याए पनि ३ वर्षदेखि लाग्दै आएको अन्तःशुल्कले जीआई वायर भारत निकासी गर्न नसकिएको प्रिमियर वायर्सका प्रबन्ध निर्देशक सौरभ शारडाले बताए । उनले तीनओटा उद्योग सञ्चालनमा आएको र बाँकी दुई उद्योग पनि सञ्चालनको तयारीमा रहेको जानकारी दिए । 

बन्द भएका उद्योगले कच्चा पदार्थ, मजदूर र मेशिनरीको व्यवस्था गर्न समय लागेकाले तत्काल उत्पादन शुरू गर्न नसकेको उनको भनाइ छ । उनीहरूको पनि कच्चा पदार्थ आइरहेकाले केही दिनपछि सञ्चालन हुने शारडाको भनाइ छ । 

अर्थमन्त्री जनार्दन शर्माले यी उद्योगको कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ बाट १० प्रतिशत बनाएका थिए । अन्तः शुल्कको दर पनि साबिकको प्रतिकिलो २ रुपैयाँ ५० पैसाबाट बढाएर ४ रुपैयाँ ५० पैसा बनाइएको थियो । भारतले पनि आफ्ना उद्योगलाई संरक्षण गर्न एमएस वायरको निर्यातमा १५ प्रतिशत शुल्क लिन थालेको छ । यी सब कारणले गर्दा उद्योगीहरू भारतबाट एमएस वायर रड मगाएर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा पुगेका थिए ।

मोरङ व्यापार संघका महासचिव एवं पायोनियरका सञ्चालक अनिल शारडाले भारतको निर्यात महसुल, नेपालको पैठारी महसुल र अन्तःशुल्कसमेत जोड्दा एमएस वायरको आयातमा २९ दशमलव ५ प्रतिशत राजस्व तिर्नुपर्ने भएकाले उद्योग बन्द गरेर सडकमा उत्रनु परेको बताए । तर, सरकारले ढिलै भए पनि उद्योगीको मागलाई सम्बोधन गरेर उद्योग जोगाएको उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थमा लगाइएको अन्तःशुल्कका कारण आर्थिक वर्ष २०७५/७६ मा २२ हजार ७४० मेट्रिक टन रहेको जीआई वायर निकासी आर्थिक वर्ष २०७८/७९ मा ६७२ मेट्रिक टनमा झरेको बताए । नेपालले अन्तःशुल्क र भारतले निर्यात शुल्क हटाएको खण्डमा नेपालबाट वार्षिक ४० हजार टनसम्म जीआई वायर निकासी गर्न सकिने उनले बताए । त्यसबाट करीब ६ अर्ब रुपैयाँ प्राप्त हुने उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)