ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पश्चिम सुर्खेतको मुख्य सडक तीन दशकदेखि अधुरै

२०७९ असोज, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्र्याक खुलेको तीन दशक नाघेको छ । ट्र्याक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले बर्सेनि सास्ती भोग्दै आइरहेका छन् ।

वर्षाको उर्लंदो भेलमा यात्रुहरूले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा बर्सेनि छाइरहन्छन् । यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरूको पीडा बयान गरिसक्नुको छैन । हालैको भारी वर्षाले खोलामा पानीको सतह बढाएपछि ती खोलाहरूमा जोखिम बढेको छ भने सडक भत्केर क्षतविक्षत बन्न पुगेको छ ।

पछिल्लो बाढीले पश्चिम सुर्खेतका सबै सडकहरू अवरुद्ध छन् । बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकखण्डमा ब्युरेनीखोला र गुटुखोलामा साना–ठूला सवारीसाधन वारपारमा समस्या छ । चौकुने गाउँपालिका गुटु निवासी स्थानीय रामबहादुर बयकले सडककै दुरवस्थाका कारण पश्चिम सुर्खेत विकासमा पछाडि परेको दुखेसो पोखे ।

‘सडकले हामीलाई सास्तीमात्र दिएको छ्रैन, यसको दुरवस्थाले लज्जित पनि गराएको छ,’ उनले भने, ‘सडक सुधारका लागि वर्षौंदेखि अनुनय गर्दै आयौँ, आजसम्म सुधार गर्ने ध्यान कसैमा गएन । यसले गर्दा न यहाँको उत्पादित वस्तु सहजै वीरेन्द्रनगर पुग्छ न त त्यहाँबाट समान सजिलै ल्याउन सकिन्छ ।’  
सडकमा गहिरा खाल्डाखुल्डी हुनुका साथै ठाडो खोलाहरूमा पुल नहुँदा धेरै जोखिम रहेको यात्रुहरू बताउँछन् । पश्चिम सुर्खेतमा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । चौकुने गाउँपालिका हुँदै निर्माणाधीन बेतन कर्णाली जलविद्युत् आयोजनास्थल पुग्नुपर्छ । तर, त्यहाँसम्म पुग्ने सडक र खोलामा पुल नहुँदा यात्रुले अनेक सास्ती भोग्दै आएका छन् ।

भेरी वन डिभिजन बाबियाचौरका नायब सुब्बा तिलकराम अधिकारीले पश्चिम सुर्खेतकै मुख्य सडकको स्तरोन्नतिमा सबैले बेवास्ता गरेको आरोप लगाए । उनले भने, ‘संघीयताका कारण सदरमुकाम केन्द्रित कार्यालयहरू गाउँमै स्थापना भएका छन् । सेवाग्राहीदेखि कर्मचारीहरू त्यहाँ पुग्नुपर्छ तर बाटोको अवस्था साह्रै जीर्ण र डरलाग्दो छ ।’

यो सडकलाई हाल मदन भण्डारी राजमार्ग आयोजनामा समावेश गरिएको छ । दाङ–सुर्खेत हुँदै डोटी जोड्ने राजमार्ग यही खण्ड भएर जान्छ । राजमार्ग बन्ने भएपछि यहाँका स्थानीयमा केही आशा जागेको छ । ‘सडक कालोपत्र हुने र खोलानालामा पक्की पुल बन्नेमा आशावादी छौँ, तर यो आयोजना पनि ट्र्याक खुलेजस्तै नहोस्,’ बाबियाचौरका स्थानीय रेशम भण्डारीले भने, ‘यो सडक पश्चिम सुर्खेतको भविष्य हो, हामी छिटो छिमेकी जिल्लासँग यातायात सम्बन्धमा जोडिन चाहन्छौँ ।’

राजमार्ग आयोजनालाई काम छिटो थाल्न स्थानीय जनप्रतिनिधिले आग्रह गरेका छन् । चौकुने गाउँपालिका अध्यक्ष खड्कबहादुर विकले राजमार्ग निर्माणकार्यमा आफूहरूले सहजीकरण एवं आवश्यक सहयोग गर्दै आएको बताए । उनले आफू अध्यक्ष हुनु पहिलेदेखि नै सडकको स्तरोन्नतिका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)