जुम्ला । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह पर्यटकको पर्खाइमा छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ ।
गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जानकारी दिए ।
गाउँपालिकाबाट चार दिन लगाएर उक्त दह पुगेको अध्यक्ष चौलागाईंले बताए । ‘सरकारी टोली र पत्रकारसहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौं,’ उनले भने । गिडिदह समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा छ । हालसम्म यो तालको लम्बाइ, चौडाइ र गहिराइ नाप्न नसकिएको अध्यक्ष चौलागाईंले बताए ।
पर्यटकीय पूर्वाधारको विकास गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले पहिलोपटक गिडिदहमै पुगेको सो वडाका अध्यक्ष अमरबहादुर रोकायाले बताए । गिडिदह सम्मेलनबाट १४ बँुदे घोषणापत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।
गिडिदहमा प्रस्तुत गरेको घोषणापत्रबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष चौलागाईंले तालको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाई कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडीबुटी वनस्पति, पाटन, जनावर, वनस्पति, जनावर र पक्षीबारे प्रचारप्रसार गर्ने योजना रहेको बताए । गिडितालको पर्यटन प्रवर्द्धनका लागि सङ्घीय, प्रदेश र गैरसरकारी निकायमा पहल गर्ने बताइएको छ । गिडिखोला गाउँ हुँदै फुलचाले पाटन, लामाचौरसम्म सडक र गिडिदहसम्म साइकल ट्रेल निर्माण गरिने तातोपानी गाउँपालिकाले जनाएको छ । रासस