सुर्खेत । मुगुको रारा, डोल्पाको शे–फोक्सुण्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्नलायक प्रमुख क्षेत्र हुन् । यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटकीय क्षेत्र धेरै छन् । यी पर्यटकीय स्थलबाट प्रदेशले राम्रो आम्दानी लिन सक्ने प्रशस्त सम्भावना छ । तर यस्तो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुँदाहुँदै पनि प्रदेशले भनेअनुसारको फाइदा लिन सकिरहेको छैन । कारण हो, पूर्वाधार विकासको अभाव र प्रचारप्रसारको कमी ।
कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट गत आर्थिक वर्षमा रू. ४८ लाख मात्र राजस्व संकलन भएको छ । सडक स्तरोन्नति, पर्यटकीय स्थलको प्रचारप्रसार र बस्ने वासको स्तरीय व्यवस्थापन नहुँदा पर्यटक आगमन बढ्न सकेको छैन । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ । प्रदेश योजना आयोगले पनि प्रथम पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रबाट मनग्गे आम्दानी लिन सकिने र त्यसबाटै पर्याप्त रोजगारी सृजना गर्ने उल्लेख गरेको छ । रमणीय पर्यटकीय क्षेत्रमा समेत अपेक्षित जति पर्यटक भित्र्याउन सरकारले सकेको छैन ।
प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा गत आर्थिक वर्षमा एक सय ८४ मात्रै बाह्य पर्यटकले यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् । सरकारले पाँच ‘प’ पहुँच, प्रवर्द्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना बनाएको छ । तर पनि भनेअनुसारको पर्यटक आकर्षण गर्न नसकेको सरोकारवाला बताउँछन् ।
प्रदेशमा पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । मुगुको छायानाथ रारा नगरपालिका १ का गजन्द्रबहादुर मल्लको घरआँगनमै रारा अवस्थित छ । तर रारासम्म पुग्न सडक बाह्रै महीना चल्दैन । ‘रारा हेर्न बाहिरबाट पर्यटक आउनुहुन्छ, तर आवश्यक पूर्वाधारको विकास र बस्ने राम्रो व्यवस्था नहुँदा निराश भएर जानुहुन्छ, एकपटक आएका पर्यटक पनि तालबाहेकका अन्य सेवासुविधा नहुँदा फेरि फर्केर आउनुहुन्न,’ उनले भने ।
रारामा पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले खासै ध्यान नदिएको भन्दै उनले भौतिक पूर्वाधारको विकाससँगै स्थानीय खानाको गुणस्तरीय होटल र फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाए । विदेशी पर्यटक ठूला होटल रोज्छन् । अचेल होटलमा पहिले जति पर्यटक बस्न आउँदैनन् । आन्तरिक पर्यटकको आगमन पनि कम हुँदा पर्यटक क्षेत्र सुनसान भएको बताउँछन् होटल व्यवसायी । कोरोनापछि व्यवसाय संकटमा परेको होटल व्यवसायी संघले बताएको छ ।
होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाहीले भने, ‘कोरोना महामारीले प्रदेशका तीन सय होटल विस्थापित भएका छन्, कतिले ऋण तिर्न सकेका छैनन् भने कति होटल बन्द नै भइसके । यस्तो अवस्थामा पर्यटकलाई राम्रो बस्ने खाने व्यवस्था गर्न सकिने अवस्था भएन ।’ सरकारले पर्यटक आकर्षण गर्न होटल व्यवसाय पनि पुरानै लयमा ल्याउने गरी काम गर्नुपर्ने उनको माग छ ।
पर्यटक आगमन बढाउन पूर्वाधार विकासमा जोड दिएका छौं : मन्त्री शाही
प्रदेश सरकारले भने मुख्य पर्यटकीय क्षेत्रसम्म पुग्न भौतिक पूर्वाधार आवश्यक रहेकाले पूर्वाधार विकासलाई जोड दिइएको बताएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीयस्तरमा धेरै पर्यटकीयस्थल रहेको भन्दै ती क्षेत्रको अध्ययन–अवलोकन र बाह्य पर्यटकको आकर्षण बढाउन प्रदेश सरकारले काम गरिरहेको बताए । ‘कर्णालीको आम्दानीको ठूलो सम्भावना पर्यटन पनि हो,’ मन्त्री शाहीले भने, ‘सरकारले विभिन्न पर्यटकीय क्षेत्रको पहिचान र प्रचारप्रसारसँगै पूर्वाधार विकासमा जोड दिएको छ ।’ रासस