ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मादल बनाउने पेशा संकटमा

२०७९ असोज, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेशा संकटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेशाबाटै पलायन भएका छन् । दैलेखको भैरवी गाउँपालिका–४ का रणवीर बादीले आफूहरूको मादल बनाउने, विक्री गर्ने पेशा संकटमा पर्दै गएको बताए । उनले तीन वर्ष अघि नै मादल बनाउन छाडिसकेका छन् । ‘मादल बनाउनु बादी जातिको पुख्र्यौली पेशा हो, यसको कच्चापदार्थ र बजारमा उचित मूल्य पाउन छाडेपछि मैले पनि मादल बेच्न छाडे’ उनले भने, ‘कच्चापदार्थ पाइँदैन, पाइहाले पनि निकै महँगो मूल्य पर्छ । श्रमको मूल्य नजोडेर विक्री गर्दासमेत केही फाइदा हुँदैन ।’

रणवीर जस्तै अधिकांश बादी युवा पुख्र्यौली पेशाबाट पलायन भइसकेका छन् । बादी सरोकार समितिका संयोजक हिक्मत बादीले व्यावसायिक रूपले फाइदा नहुने देखिएपछि बिस्तारै आफ्नो समुदायले मादल बनाउन छाडेको बताए । उनका अनुसार हाल मादल बनाउने युवाको संख्या निकै कम छ । दैलेखका तल्लो डुंगेश्वर, भैरवी डाडीमाडी र दुल्लुका केही बादी युवाले मादल बनाउने पेशालाई निरन्तरता दिएका छन् । ‘यही पेशाबाट जीविकोपार्जन गर्न कठिन भएपछि यसप्रति आकर्षण घटेको हो’ हिक्मतले भने, ‘कुनैबेला हाम्रो जीविकोपार्जनको मुख्य आधार यही पेशा थियो । मादल दिएर प्रशस्त अनाज उठ्थ्यो । अहिले यसबाट गुजारा चलाउन पनि मुस्किल पर्ने भयो, मेहनत बढी र मूल्य कम पाउने भएपछि धेरैले छाडिसके ।’

नयाँ पुस्तालाई मादल बनाउने शीपको हस्तान्तरण गर्न, बजारको ग्यारेन्टी गर्नसके बादी समुदायको पुरानो शीपको संरक्षण हुने हिक्मतको भनाइ छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठका साथै खरी, छालाको आवश्यकता पर्छ ।

मादलको माग तीज र तिहारका बेला बढी हुन्छ । गाउँ, सहर जताततै आवश्यकता पर्ने भए पनि कच्चापदार्थ अभाव र उचित बजार मूल्य नपाउँदा यसको उत्पादनमा कमी आउन थालेको छ । स्थानीयस्तरमा मादल उत्पादन हुन छाडेपछि वीरेन्द्रनगरमा भारतीय मादल भित्रिएका छन् । दशैंको घटस्थापनादेखि नै भारतको झारखण्डबाट युवाको एक समूह मादल बेच्न यहाँ आइपुगेको थियो । वीरेन्द्रनगरमा भारतमा बनाइएका मादल बेच्न राखिएका छन् । ती मादल भारतीय नागरिकले डुलाउँदै विक्री गर्छन् । भारतको उत्तराखण्डबाट मादल बेच्न आएका राजु दासले दैनिक ५० मादल विक्री गर्ने बताए । भारतीय मादल रू एक हजार २०० मा विक्री हुँदै आएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)