ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार वर्षाले मार्सी धानबालीमा क्षति

२०७९ असोज, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । लगातारको वर्षाले जुम्लामा पाक्नै लागेको मार्सी धानबालीमा क्षति पुगेको छ । एक सातादेखि परेको वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न अभाव हुने तिला गाउँपालिका–१ का किसान जयबहादुर बुढाले चिन्ता व्यक्त गरे । धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको सिञ्जा गाउँपालिकाले बताएको छ ।

तिला गाउँपालिकाका नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली वर्षाले पूर्णरूपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । हिउँदमा पशुपालनका लागि काटिएको घाँससमेत मेलामै कुहिएको हिमा–१ का युनेश परियारले बताए । यसबाट हिउँदमा पशुपालनमा ठूलो समस्या आउने अवस्था देखिएको छ । वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर, हिउँदमा सुक्खा हुने भएकोले किसानले घाँस सङ्कलन गरेर राखेका हुन्छन् । घाँसले मङ्सिरदेखि फागुन महीनासम्म पशुबस्तुको आहाराको काम गर्छ ।

दशैं अघिदेखि घाँस काटेर खेतमा सुकाउने, कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकाले पनि किसान निकै व्यस्त देखिन्थे । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार ९ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठओटै स्थानीय तहमा धानखेती हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)