जुम्ला । गत एक सातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवाबाट राहत वितरण दिन थालेको छ । प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट राहत वितरण गरेको हो ।
नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार सेनाको हेलिकप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत सामग्री प्रदान गरेको बताए ।
नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिकाको सुन्दरीमा चिनियाँ पाल चार थान, कम्बल ४० थान र डिटोल साबुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ थान, कम्बल २५ थान, प्लाष्टिक पाल २५ थान उपलब्ध गराइएको छ । हिमा गाउँपालिकामा कम्बल २५ थान, त्रिपाल २५ थान र डिटोल साबुन एक कार्टुन उपलब्ध गराइएको छ ।
यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० थान त्रिपाल, कम्बल एक सय थान टेण्टपाल १०० थान, डिटोल साबुन एक कार्टुन पुर्याइएको थियो । हेलिकप्टरबाट यही २४ गते कनकासुन्दरी र हिमाका घाइतेको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले कर्णाली प्रदेश सरकारको सहयोगमा प्राप्त राहत सामग्री बाढी पहिरो पीडितलाई उपलब्ध गराइएको तर वितरणको वास्तविक विवरण आउन बाँकी रहेको जानकारी दिए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका सात वडामध्ये ४, ५, ६ र ७ का लागि २५ गते कालिकाखेत्तुमा र असोज २८ गते १, २ र ३ वडाको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए ।
यही असोज १९ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३८६ घरमा पूर्ण क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर पूर्ण रूपमा क्षति भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले यस क्षेत्रमा पहिरोले आठ जनाको मृत्यु भएको र घरको क्षतिबारे तथ्यांक संकलन भइरहेको बताए । रासस