काठमाडौं । सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा मौलिक बाजाको व्यवसाय नै संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन् ।
विगतको तिहारहरूमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् ।
विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको व्यवसायीको गुनसो छ ।
विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताए । उनले विगतमा मादलको माग उच्चतम हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताए ।
उनले मादल विभिन्न जातजातिका कला, संस्कृति अनुसार नेपालीहरुले मात्रै प्रयोग गर्ने गरेको बताए । कुरुले नेपाली मादललाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनसके मादल व्यवसायकोसमेत संरक्षण हुनसक्ने बताए ।
मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्न माग गरे । उनले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने पनि बताए ।
नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजार रुपैयाँसम्म पर्छ । कुरुकाअनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुन्छ ।
त्यस्तै अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताए । उनले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भएपनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बताउए ।
नेपाली मादलकोसमेत माग हुन छाडेको अवस्थामा भारतीय मादल भने नेपालमा सहजै विक्री वितरण हुन थालेको उनको भनाइ छ । उनले सरकारले नेपाली मौलिक बाजा मादललाई संरक्षण गर्नको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भएपनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ । पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल विक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ ।