सुर्खेत । सुरक्षाका दृष्टिकोणले कर्णालीका सात जिल्लाका करीब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ ओटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । जिल्ला निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदन अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा छन् । कालीकोटमा ७४ ओटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।
त्यसमध्ये, सल्यानमा ६३, दैलेखमा ४८, सुर्खेतमा २०, रुकुमपश्चिमका २१, डोल्पाका २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिको विवरण छ । निर्वाचन सुरक्षा जिल्ला समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन्, जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुमपश्चिमका ४३, डोल्पाका २६, कालीकोटका २८ र जाजरकोटका ४२ ओटा मतदानस्थल संवेदनशील देखिएका हुन् ।
प्रदेशभर एक सय ३८ ओटा मतदानस्थल सामान्य रहेका कार्यालयको विवरण छ । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपद्का कारण अहिले मतदानस्थलको अवस्था बुझ्न सकिएको छैन । केही दिनमै मतदानस्थलको अवस्था बारे जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिको भनाइ छ । रासस