जुम्ला । कर्णाली राजमार्गको नाग्म–गमगढी खण्डको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण गत असोज तेस्रो सातादेखि उक्त सडक अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको थियो । उक्त गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म करिब ८ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा पहिरोले क्षति गरेको थियो । सो पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ ।
नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएको कार्यालयका इन्जिनियर गणेश भक्रीले बताए । हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ । थप मर्मतको काम जारी छ । सडक सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकलाई रारा ताल पुग्न सहज भएको बताइएको छ । रासस