बागलुङ । जन्मेको ६ महीनामै बागलुङ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा परेर पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला गुमाउनु पर्यो । जन्मेको छ महीनामा अपाङ्गता भएका ७९ वर्षीया खड्काको जीवन सङ्घर्षले भने अझै विश्राम लिएको छैन ।
अहिले पनि उनी लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिन्छन् । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आएका थिए भने १० वर्षदेखि बाख्रा । ४५ वर्षदेखि ब्याठे राँगो पाल्दै आएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल भए ।
'४५ वर्षअघि १० रुपैयाँ राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरीद गरेर ल्याएको छु, उनले भने, 'अहिले वर्षमा १२० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० ओटा बोका छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।'
खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उनले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आएका छन् ।
राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको बताउँछन् । 'अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात', खड्काले भने, '७० नपुगुन्जेल महीनाको ५०० अपाङ्गता भत्ता आउँथ्यो, अहिले ३ महीनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन, नसकेपछि हेरौँला ।'
अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उनको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरीद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत १ लाख ८० हजार कमाएको खड्काको भनाइ छ ।
उनले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताए । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताए ।
'राँगोलाई डोर्याउन पर्दैन, आफैँ पछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्याउने मात्रै हो', खड्काले भने, 'युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ ।'
खड्काले पाल्ने उन्नत जातका राँगो हरेक ३/४ वर्षको अन्तरमा फेर्ने गरेको पनि बताए ।
–रासस