ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहकारीका शेयर सदस्यहरूको लागि बनाइएको हाउजिङ

२०७९ कात्तिक, ११  
र यो पनि घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
झापाको दमकमा मेची सहकारी संस्थाले निर्माण गरिरहेको 'मेची आवास' । तस्वीर : रासस
author avatar अभियान संवाददाता

काठमाडौं । पूर्वका चल्तीको सहकारी हो- 'मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड' । २५ वर्षअघि (२०५४ सालमा) स्थापना भएको सहकारीको अहिले १२ ओटा शाखा सञ्चालनमा छन् । सहकारी संस्थाकाे करीब ४ अर्ब रूपैयाँको ब्यालेन्स सिट छ ।

त्यही सहकारीले आफ्ना शेयर सदस्यका लागि झापाको दमकमा 'मेची आवास' निर्माण गरेको छ । आवासमा ५७ ओटा घर निर्माण गरेको सहकारीले सबैजसो घर विक्री पनि गरिसकेको छ । १ वर्षअघि मात्रै शुरू गरिएको परियोजनाका सबै घर सजिलै विक्री भएपछि संस्थाले थप आवास योजना ल्याउने पनि बताएको छ ।

अहिले आर्थिक गतिविधि सुस्ताएको र मेची आवास हस्तान्तरण गर्न पनि ४/५ महीना अरू लाग्ने भएकाले नयाँ आवास निर्माणको काम भने त्यसपछि मात्रै शुरू गर्ने संस्थाले योजना छ ।

२९ जना शेयर सदस्यबाट शुरू भएको सहकारीमा अहिले १४ हजारभन्दा बढी शेयर सदस्य रहेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकन्दराज ओझाले बताए । करीब ४ अर्ब रूपैयाँ ब्यालेन्स सिट भएको सहकारीले ३ अर्ब हाराहारी कर्जा लगानी गरेको पनि उनले जानकारी दिए । संस्थाले बिना धितो भने कर्जा लगानी गर्दैन ।

१ वर्षअघि निर्माण शुरू गरिएको आवासमा तिहारअघिसम्म २/३ ओटा घर बाँकी थिए । तर, तिहारलगत्तै सम्पर्क गर्दा एउटा घर मात्रै बुकिङ हुन बाँकी रहेको सहकारीले बताएको छ ।

आवास निर्माणको योजना बनाउँदा घरको शुरूवाती मूल्य ४३ लाख रूपैयाँ थियो । ८ देखि १० धुर जग्गामा घर निर्माण गरिएको छ । १० धुर जग्गामा निर्माण गरिएका घरको मूल्य ५२ लाख रूपैयाँसम्म छ । ३७ कठ्ठा जग्गामा बनेको आवासका सबै घर डेढ तलका छन् । तल्लाे तलामा ३ ओटा कोठा र माथिल्लाे तलामा २ ओटा कोठा निकालिएको छ ।

सबैजसो घरहरू अहिले फिनिसिङको चरणमा छन् । आगामी फागुनसम्म घर हस्तान्तरण गर्ने योजना रहेको ओझाले बताए ।

सहकारीको मुख्य कार्यालय अहिले आफ्नै भवनमा निर्माण गरिएको छ । अन्य ६/७ ठाउँमा संस्थाको आफ्नै जग्गा रहेको छ । १२ बिघा जग्गामा गरिएको रबर खेतीमा सहकारीले ४० प्रतिशत शेयर लगानी गरेको पनि ओझाले जानकारी दिए ।

संस्थाले हरेक वर्ष आफ्ना शेयर सदस्यलाई १३ देखि १५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । अहिले संस्थाको जगेडा कोषमा १६ करोड रूपैयाँ छ । सहकारीले १२ ओटा शाखामा गरेर ८९ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)