ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरका उद्योगी व्यवसायीहरूद्वारा आर्थिक आपतकाल घोषणा गर्न माग

२०७९ कात्तिक, २४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बैंकको चर्को ब्याज लगाएपछि त्यसविरूद्ध सडकमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीहरूले आर्थिक आपतकाल घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

मोरङ व्यापार संघबाट निकालिएकाे माैन जुलुसपछि आयाेजित विराेध सभामा उद्योगी व्यवसायीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले बैंकहरूले ब्याजदर र स्प्रिडदर घटाउनसमेत माग गरेका छन् । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेल र नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बैंकहरूले लिइरहेको मनोमानी ब्याजदर घटाएर निजी क्षेत्रलाई जोगाउनु पर्ने धारणा राखे । 

मोरङ व्यापार संघका अध्यक्ष रिजालले देशका नेता र शासकलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, बहुमत, दुई तिहाइ सबै दिए पनि उनीहरूले निजी क्षेत्रलाई केही दिन नसकेको बताए । उनले भने, ‘हामीले सबै आन्दोलनमा साथ दियौं । हरेक चुनावमा मद्दत गर्यौं । तर, देशका शासक र नेताले बैंकको चर्को ब्याजलाई साथ दिएर सीमित संस्था पोस्ने काम मात्र गरे ।’

यसैगरी नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले देशको अर्थतन्त्र धरासयी बनिरहेको बेला राष्ट्र बैंकले ल्याएको चर्काे ब्याजदर नीतिले ब्यवसायीहरूलाई रातदिन रुनु परेको सुनाए । उनले अहिलेका प्रधानमन्त्री, अर्थमन्त्रि र नेपाल राष्ट्र बैंकका गर्भनरलाई १५ दिनको अल्टिमेट दिएकाछौँ १५ दिनभित्र नीतीहरु नसच्चाए विराटनगरका सम्पुर्ण उद्योगी व्यावसायीहरु काठमान्डौ पुगेर आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

उद्योग संगठन, मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायी मंसिर १५ सम्म सरकारलाई मौका दिइएको बताए । उनले मंसिरमा राष्ट्र बैंकले गर्ने रिभ्यूमा पनि समस्या समाधान नगरिए विकराल परिस्थिति उत्पन्न हुने चेतावनी दिए । निर्वाचन सम्पन्न भएर मंसिर १५ सम्म नयाँ सरकारसमेत गठन भइसक्ने भएकाले उद्योगी व्यवसायीको माग सम्बोधन गर्न सहज हुने उल्लेख गरे । त्यतिबेला पनि मागहरू सम्बोधन नभए मुलुकको आर्थिक अवस्था श्रीलंका जस्तो हुने उल्लेख गरे । 

व्यापार संघका पूर्वअध्यक्षद्वय पवन सारडा र प्रकाश मुन्दडाले मुलुकको आर्थिक अवस्था राम्रो नभएकाले आर्थिक आपतकाल घोषणा गर्नुपर्ने उल्लेख गरे । 

उद्योगी व्यवसायीहरूले आर्थिक तथा वित्तीय अवस्था सुधारका लागि कुनै भूमिका निर्वाह गर्न नसकेको भन्दै गर्भनर महाप्रसाद अधिकारीको राजीनामासमेत मागेका छन् । व्यापार संघका पूर्वअध्यक्ष सारडाले आर्थिक संकटको निकास निकाल्न नसक्ने गर्भनरले नैतिकताको आधारमा राजीनामा दिन पर्ने बताए । ‘कि त बैंकको बढ्दो ब्याजदरलाई रोक्न सक्नुपर्‍यो, होइन भने सक्षम व्यक्तिलाई नेतृत्व छाड्नुपर्‍यो,’ उनले भने । 

अर्का पूर्वअध्यक्ष मुन्दडाले राष्ट्र बैंक नै सबै व्यापारिक बैंकको अभिभावक भएको उल्लेख गर्दै राष्ट्र बैंकको नेतृत्वले परिस्थितिलाई काबुमा राख्न सके मात्र कुर्सीमा बस्न मिल्ने नभए मार्गप्रशस्त गरिदिनु पर्ने उल्लेख गरे । 

विराेध कार्यक्रम मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको थियाे ।  उद्योगी व्यवसायीहरूले बुधवार नेपाल राष्ट्र बैंकको प्रदेश १ कार्यालयमा धर्ना दिएका थिए भने ज्ञापन पत्रसमेत बुझाएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)