ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मीरगञ्ज पुल सञ्चालन नहुँदाकाे असर : १० महीनामा पाैने १९ अर्बले घट्यो विराटनगर भन्सारकाे काराेबार

२०७९ कात्तिक, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारत, जोगवनीको मीरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलीब्रिज भासिएको १० महीना भयो । १० महीनामा विराटनगर नाकाबाट हुँदै आएको कारोबारमा १८ अर्ब ७५ करोड रुपैयाँले कमी आएको छ । ४ किलोमीटर दक्षिणमा रहेको उक्त पुल र सँगै बनेको आरसीसी पुल सञ्चालनमा नआउँदा विराटनगर नाकाबाट कारोबार रकम घटेको हो ।

बेलीब्रिज भासिएपछि १ सय १६ किलोमीटर पश्चिममा रहेको सुनसरीको भण्टाबारी नाकाबाट रि–रूट भएर विराटनगर भन्सारसम्म मालवस्तु ल्याउनुपर्ने बाध्यता छ ।

पुल भासिनु अघिसम्म विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । पुल भासिनु, भारतसँगको उधारो व्यापार बन्द हुनु र आर्थिक मन्दीको कारण अहिले दैनिक १० करोड रुपैयाँमात्र राजस्व असुली भइरहेको छ । 

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २०७८ पुस २२ गते मीरगञ्जको पुल भासिएपछि विराटनगर नाकाबाट हुने आयात निर्यात २५ प्रतिशत घटेको छ । यहाँबाट हुने कारोबार मेचीलगायत भन्सारमा सरेको छ । ४ किलोमीटरनजिकै आइपुगेको सामान ११६ किलोमीटर घुमेर पुनः विराटनगर भन्सारबाट जाँचपास गराएर लैजानुपर्दा ढुवानी भाडा महँगो भएको छ । यसकारण कतिपय उद्योगी व्यवसायीले सामान मगाउन कम गरेका छन् । 

पुल भासिनुअघि दैनिक ४०० गाडी सामान विराटनगर भन्सारबाट जाँचपास हुन्थे । अहिले दैनिक २०० हाराहारी मात्र मालवाहक गाडीको जाँचपास हुने गरेको भन्सार प्रमुख सापकोटाले जानकारी दिए ।

मोरङ व्यापार संघले पुल सञ्चालनको विषयमा नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै भारतीय प्रशासक र केन्द्रीय गृहमन्त्री अमित साह समेतलाई ज्ञापनपत्र बुझायो । सबैतिरबाट आश्वासन आए पनि पुल सञ्चालन नहुँदा उद्योगको लागत बढेको र त्यसको असर बजारमा समेत परिरहेको संघका अध्यक्ष नवीन रिजालले बताए । ‘अतिरिक्त भाडाको कारण वस्तुको उत्पादन लागत बढेको छ, बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको छ,’ उनले भने । नेपाल सरकारले कूटनीतिक रूपमा ठोस कदम चालेर यो समस्याको समाधान गर्नुपर्ने उनले बताए । ‘भारतले चाह्यो भने एक घण्टामा यो समस्याको समाधान हुन्छ,’ उनले भने, ‘तर नेपाल सरकारको कूटनीतिक पहल ठोस रूपमा हुन सकेन ।’ २०७२ सालमा आएको बाढीले पनि मीरगञ्ज पुल भासिएको थियो । त्यो बेला जोगवनी नाकाबाट हुने आयात निर्यात ६ महीनासम्म वीरपुर नाका हुँदै सुनसरीको भाण्टाबारी नाकाबाट गरिएको थियो । त्यसबेला भारतले पुल मर्मत गरेर पूर्ण भारवहन क्षमतामा सञ्चालन गरेको थियो ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले सुनसरी मोरङ औद्योगिक कोरिडोरको लाइफलाइनको रूपमा रहेको उक्त पुल सञ्चालनमा नआउँदा नेपाल सरकारले अर्बौंको राजस्व गुमाइरहेको बताए । यस्तै निजीक्षेत्रले समेत करोडौं क्षति बेहोर्नुपरेको उनको भनाइ छ । पुल सञ्चालनको विषयमा दुवै देशको परराष्ट्र मन्त्रालय स्तरमा वार्ता गरे समस्याको तत्काल समाधान हुने उनले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले पुल सञ्चालन नहुनुलाई शक्तिशाली मुलुकले कमजोर मुलुकप्रति गरेको हेलचेक्र्याइँको रूपमा लिनुपर्ने बताए । भारत सरकारले पुलको सञ्चालनमा गरेको बेवास्ता दुई देशबीचको वाणिज्य सन्धिको मर्मविपरीत रहेको उनको भनाइ छ ।

उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले मीरगञ्जको पुल सञ्चालनमा नआउँदा रि–रूट गरी ल्याइएको औद्योगिक कच्चा पदार्थबाट उद्योग सञ्चालन गर्न सकिने अवस्था नभएको बताए । ‘सरकारले यो विषयलाई गम्भीर रूपमा लिएर कूटनीतिक पहल गरी समस्याको समाधान गर्नुपर्छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)