सुर्खेत । निर्वाचनको मिति नजजिकिएसँगै सुर्खेतमा मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक हप्ता अघिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार भएको सर्वदलीय बैठकले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्न मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
शुक्रवारदेखि नै लागू हुने गरी निर्वाचन सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनले सर्वदलिय रुपमा गरिएको निर्णयको कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गरेका छन् ।
बैठकले मतदान शुरू हुन २४ घण्टा अघिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुन सक्ने सामग्रीहरूको ओसापसार तथा विक्री वितरणमा पनि रोक लगाउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरू सञ्चालनमा पनि प्रशासनले रोक लगाएको छ ।