जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२का कालीबहादुर नेपालीले बताए ।
सरकारी स्वामित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी कोरिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा गरिएको छ । रू. तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम शुरू गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भनाइ छ ।
सरकारी स्वामित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्ने बताइएको छ । जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुने बित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटो समेत खुल्ने छ । प्रशोधन केन्द्र बनेपछि संकलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक रु १० करोडको व्यापार हुने अनुमान गरिएको छ । रासस