ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावी नारामा सीमित सिमकोट सडक

२०७९ मंसिर, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्र विकल्प हो हवाई जहाज, तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लावासीले सास्ती खेप्दै आएका छन् । यहाँका नागरिकले जहाज चढ्न पनि हप्तौं कुर्नुपर्छ । यसका लागि पनि ‘ठूलाबडा’लाई भनसुन गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

यसपटक सिमकोटलाई सडकसँग पक्कै जोडिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई आश्वासन दिँदै आएका छन् । तर अवस्था जस्ताको तस्तै छ ।    

२०५६ सालको प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन् । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यसपटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ । तर दलहरूको उक्त प्रतिबद्धता पूरा हुन्छ भन्ने हुम्लावासी विश्वस्त छैनन् । सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भनिए पनि त्यो घाषणामै सीमित हुँदै आएको छ । २०६४ सालदेखि दलहरूले यो विषय उठाए पनि काम अघि बढ्न सकेको छैन । २०६४, २०७०, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारको प्रतिबद्धतामा सडकको एजेन्डा थियो । तर हुम्लावासीले कहिलेदेखि सडक यातायातको सुविधा पाउँछन् भन्ने अझै निश्चित छैन ।

समय लागे पनि आवाज उठाएकै कारण कर्णाली कोरिडोरको निर्माण भएको दलहरूको दाबी छ । अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ जोड दिने उद्घोष उनीहरूले दोहोर्‍याउँदै आएका छन् । कोरिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ । सरकारले हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय २०५१ सालदेखिका बजेटमा राख्दै आएको छ ।  कर्णाली कोरिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ । यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर खण्डको काम सकेर सेनाले हस्तान्तरण गरिसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)