ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीआई वायर निकासीमा अन्त:शुल्क तगारो, ६० % उद्योगको उत्पादन कटौती !

२०७९ मंसिर, २  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सरकारले चालू आर्थिक वर्ष (आव) को बजेटमार्फत बढाएको करको दर मन्त्रिपरिषद् बैठकले संशोधन गरेपछि ४ महीनादेखि बन्द सुनसरी मोरङ औद्योगिक कोरिडोरका पाँच जीआई वायर उद्योग सञ्चालनमा आए । तर, जीआई वायर उद्योगको कच्चा पदार्थ एमएस रडमा प्रतिटन ४ हजार ५०० रुपैयाँका दरले लाग्ने अन्त:शुल्क तयारी जीआई वायर निकासीमा तगारोको रूपमा खडा भएको छ । 

४ वर्षअघिसम्म नेपालबाट मासिक ३ अर्ब ५० करोड रुपैयाँ बराबरको जीआई वायर निकासी हुन्थ्यो । सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ उद्योगले उक्त मूल्य बराबरको निकासी गर्थे । निकासीबाट प्राप्त हुने विदेशी मुद्रा सञ्चिति बढाउनमा समेत योगदान गरेको थियो । तर, पछिल्लो समय सरकारले जीआई वायर उत्पादनमा अन्त:शुल्क नलाग्ने तर यसको कच्चा पदार्थ एमएस रड आयातमा प्रतिकिलो ४ रुपैयाँ ५० पैसा अन्त:शुल्क लाग्ने व्यवस्था गरेपछि उद्योगहरूले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी निकासी घटेको हो । 

विराटनगर भन्सारको तथ्यांकअनुसार आव २०७५/७६ मा २२ हजार ७४० टन रहेको जीआई वायरको निकासी आव २०७८/७९ मा ६७२ टनमा झरेको छ । 
मोरङ व्यापार संघका महासचिव तथा पायोनियर वायर्सका सञ्चालक अनिल शारडा सरकारले वायर उद्योगलाई सहुलियत दिन खोजे पनि ऐनको अस्पष्टताले निकासी प्रभावित भएको बताउँछन् । 

नेपालमा उत्पादन हुने भएकाले जीआई वायरमा अन्त:शुल्क नलाग्ने व्यवस्था गरिएको तर यसको कच्चा पदार्थ एमएस रड आयात गर्दा एक टन बराबर ४ हजार ५०० रुपैयाँ अन्त:शुल्क तिर्नुपर्ने उनले बताए । ५० पैसा नाफामा काम गर्दै आएका उद्योगले कच्चा पदार्थ आयातमै किलोमा ४ रुपैयाँ ५० पैसा बढी तिर्नुपर्ने भएपछि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर ६० प्रतिशतले उत्पादन कटौती गरेको उनले दाबी गरे । नेपालको माग धान्न ४० प्रतिशत क्षमतामा उत्पादन गरे पुग्ने शारडाको भनाइ छ ।

उनका अनुसार मन्त्रिपरिषद्ले ‘जीआई वायरमा अन्त:शुल्क नलाग्ने’को सट्टा ‘शून्य प्रतिशत लाग्ने’ निर्णय गरे कच्चा पदार्थ आयात गर्दा तिरेको अन्त:शुल्क फिर्ता हुन्छ । अनि सबै वायर उद्योग पूर्ण क्षमतामा चल्छन् र वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको निकासी गर्न सक्छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका प्रिमियर वायर्स, हुलास वायर्स, पायोनियर वायर्स, कमला आइरन र अरिहन्त आइरनले जीआई वायर उत्पादन गर्छन् । करको दर सच्चिएपछि कच्चा पदार्थ मगाउन ढिला भएको कारण कमला र अरिहन्त २ महीनापछि सञ्चालनमा आएका हुन् । अर्थमन्त्रीले चालू आवको बजेटमार्फत जीआई वायरको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार र अन्त:शुल्क बढाएपछि ४ महीना उद्योग बन्द भएका थिए । पछि मन्त्रिपरिषद् बैठकले भन्सार दर घटाए पनि अन्त:शुल्क घटाएको छैन । एमएस रड आयातमा लाग्ने अन्त:शुल्क प्रतिटन १ हजारबाट १५ सय, २५ हुँदै ४५ सय रुपैयाँ प्रतिमेट्रिक टन पुर्‍याइएको छ । 

सरकारले दुई दुईपटक उत्कृष्ट निकासीकर्ताका रूपमा आफ्नो उद्योगलाई सम्मानित गरे पनि ३ वर्षदेखि जीआई वायरको निकासी ठप्प रहेको हुलास वायर्सकी निर्देशक युक्ती गोल्छाले बताइन् । 

अन्त:शुल्कको दरमा गरिएको वृद्धिकै कारण मासिक ५० करोड रुपैयाँको निकासी गर्दै आएको आफ्नो उद्योगले अहिले निकासी ठप्प पार्नुपरेको गोल्छाको दाबी छ । उनले भनिन्, ‘सरकारले यो निर्णय सच्याउनुपर्छ ता कि करोडौं राजस्व मर्नबाट रोकियोस् र निकासी गर्न पनि सकियोस् ।’

प्रिमियर वायर्सका निर्देशक सौरभ शारडाले पनि गोल्छाकै जस्तो प्रतिक्रिया दिए । सरकारले भारतीय जीआई वायरसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी अन्त:शुल्क लगाउन थालेपछि निकासी बन्द गर्नुपरेको उनको भनाइ छ । अहिले बैंकहरूले हाउजिङ र होमलोन बन्द गरेपछि निर्माण क्षेत्र ठप्प भएकाले स्वदेशमा पनि जीआई वायरको माग घटेको उनले बताए । ‘त्यसैले उत्पादन ३० देखि ४० प्रतिशतमा सीमित गर्नुपरेको छ,’ सौरभले भने, ‘असमान करका दर त सच्चिए तर पूर्ण क्षमतामा उद्योग चलाउने वातावरण अझै बनेको छैन ।’ 

चालू आवको बजेटमार्फत एमएस वायर रडको भन्सार महसुल ५ बाट १० प्रतिशत बनाइएको थियो । अन्त: शुल्क प्रतिकिलो २ रुपैयाँ ५० पैसाबाट ४ रुपैयाँ ५० पैसा बनाइएको थियो । 

भारतले पनि आफ्ना उद्योगलाई संरक्षण गर्न एमएस वायरको निर्यातमा १५ प्रतिशत शुल्क लिन थालेको छ । यसले गर्दा नेपाली वायर उद्योगले कच्चा पदार्थ आयातमै बढी खर्च गर्नुपर्ने भयो । स्वदेशी उद्योग बन्द हुनुमा भारतीय कदम पनि जिम्मेवार थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)