सिमकोट । निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारओटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको कार्यालयको भनाइ छ ।
जिल्लाको सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । त्यस्तै आठ महिलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसपटकको चुनावमा खटाउन महिलालाई प्राथमिकता दिइएको बताएको छ ।
गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यसपटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।
स्थानीय चुनावमा जिल्लामा ४४ महिला मात्र खटिएकोमा यसपटकको चुनावमा ७६ महिला खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाको विवरण छ । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । निर्वाचनका लागि जिल्लामा साढे चार सय कर्मचारी खटिएका छन् । रासस